भगीरथ भण्डारी इलाम । माई नगरपालिकाको सबैभन्दा ठूलो आम्दानीको स्रोत गिटी र बालुवा हो तर पनि पटक पटक सूचना घटाएर निकाल्दा पनि नगरपालिकाले अझै ठेक्का लगाउन सकेको छैन ।
ठेक्का नलागेपछि शुरुमा ३ करोड २० लाखको ठेक्का अङ्क तोकिएको बोलपत्र आह्वानको सूचना घटाएर १६ लाखमा झारेको छ । चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि नगरपालिकाको मुख्य आन्तरिक आम्दानीको स्रोतको रूपमा रहेको दहत्तर बहत्तरको ठेक्का लाग्न नसकेपछि बाध्य भएर नगरपालिकाले ठेक्का लगाउनकै लागि मात्र पनि स्वात्तै ठेक्का अङ्क घटाएर बोलपत्र आह्वान गरेको हो ।
चालु आर्थिक वर्षमा लगाउनु पर्ने ठेक्काको बोलपत्र सूचना गत आर्थिक वर्षकै अन्त्यमा निकालेर आ.व.को शुरुदेखि नै ठेक्का कार्यान्वयन गर्नुपर्नेमा नगरपालिकाले चालु आ.व.को भदौ १४ गतेमात्र एक महिना म्यादसहितको पहिलोपटक दहत्तर बहत्तरको ठेक्काको बोलपत्र सूचना निकालेको थियो ।
पहिलो सूचनामा कसैले ठेक्का नहालेपछि दोस्रो पटक असोज १५ गते १५ दिनको म्यादमा, असोज २८ र कात्तिक ७ गते सात दिनको म्यादमा ठेक्काको पुनः सूचना निकालिएको थियो । तर चारपटक सूचना निकाल्दा पनि ठेक्काको बोलपत्र भर्ने कोही ननिस्किएपछि नगरपालिकाले अहिले शुरु ठेक्का अङ्कको ९५ प्रतिशत घटाएर पाँचौ पटक कात्तिक २७ गते अर्को बोलपत्र सूचना निकालेको छ ।
आ.व.को शुरुदेखि नै आम्दानी हुनेगरि लगाउनु पर्ने ठेक्का, चार महिनासम्म सूचना निकाल्दा निकाल्दै बितेको छ । गत वर्ष पनि ठेक्का नलाग्दा नगरले आन्तरिक रुपमा सञ्चालन गरेका योजनाहरुमा प्रयोग भएको ढुङ्गा, गिटी, बालुवाको कर कार्यालयबाटै योजनाको फछ्र्यौट गर्ने क्रममा सङ्कलन गरेर चित्त बुझाएको थियो । यस्तो योजनाहरुमा प्रयोग भएको दहत्तर बहत्तरको करबाट गत वर्ष ६६ लाख रुपैयाँ आम्दानी भएको नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका लेखाअधिकृत क्षेत्रनाथ शर्माले जानकारी दिनुभयो ।
ठेक्का नलागे पनि अहिले माई नगरपालिकाका खोलाहरुबाट ढुङ्गा, गिटी तथा बालुवा सङ्कलन गरेर निकासी भइरहेको छ । निकासी भएको सामानको कर हालसम्म नगरले उठाउन सकेको छैन ।
जिल्लामा दहत्तर बहत्तरको आम्दानी सबैभन्दा बढी लिनसक्ने सम्भावना भएको स्थानीय तह माई नगरपालिका हो । जिल्लाको सबैभन्दा ठूलो नदी माई यही नगरपालिकाकोबीच भागबाट बहन्छ । त्यो बाहेक सानातिना नदीहरु पनि नगरपालिकामा थुप्रै छन् । नदीहरुबाट सङ्कलन भएको गिटी, बालुवा इलामका विभिन्न स्थानीय तहसँगसँगै झापा, मोरङसम्म लगेर निर्माण कार्यमा प्रयोग गरिने गरेको छ ।