विमल खड्काकाठमाडौं । सरकारले भ्रमण तथा पर्यटन वर्षको भव्य तयारी गरिरहेको छ । सन् २०२० मा २० लाख पर्यटक ल्याउने ध्याउन्नमा छ सरकार । धार्मिक पर्यटन, पर्यावरण, युद्ध पर्यटन, सांस्कृतिक सभ्यता तथा सम्पदाजस्ता नअनेक विधागत पर्यटन पूर्वाधार छन् हामीसँग । कृषि र पर्यटनमार्फत मुलुक कमजोर आर्थिक अवस्था तंग्र्याउने प्रयासमा छ । हिमाली पदयात्रा, पहाडी क्षेत्रमा ‘होम स्टे’ र अन्य पूर्वाधार अनि तराई मधेसमा धार्मिक सभ्यता र सम्पदामार्फत पर्यटन प्रवद्र्धनको प्रयासमा सबैभन्दा महत्वपूर्ण पाटो हो त्यहाँसम्म पुग्ने सडक । सडक कस्तो छ ?, कति लेनको छ ? पक्की छ कि छैन ? राजधानीबाट त्यहाँसम्म पुग्ने बाटोमा सुरक्षित र सुविधाजनक यात्रा सम्भव छ कि छैन ? भन्ने कुराले हाम्राे विकासकाे गति कसरी अघि बढिरहेकाे छ भन्ने दर्शाउँछ । पछिल्लाे समय निर्माणकाे जिम्मा पाएका ठेकेदारहरु काममाभन्दा बढी सडक नबनाउने ठेकेदारहरु भनेर पोष्टरमा भेटिन थालेका छन् । एकातिर सरकार म्याद थपिरहने, अर्काेतिर ठेकेदार काम लिने, म्याद सकाउने तर, निर्माण नगरी याेजना अलपत्र पार्ने प्रवृत्ति हाबी बनेका छ ।
जनता आजित भएर ठेकेदारको पोष्टर र होर्डिङ बोर्ड बनाएर आक्रोश पोखिरहेका छन् । यो क्रम अब काठमाडौंबाट देशैभर पुग्ला जस्तो छ ।
गण्डकी प्रदेशकाे बागलुङ जिल्लामा पनि यस्तै उदाहरण भेटिएकाे छ । जिल्लाकाे मध्यपहाडी लोकमार्ग निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीले कयौँपटक म्याद पायो तर सडक बनाएन । सुर्य कन्ट्रक्सन नामकाे ठेकेदार कम्पनी नै टाँट पल्टिएपछि सडक निर्माण कार्य अलपत्र परेकाे हाे ।
लोकमार्ग खोल्न शुरु भएको २० वर्षपछि कालोपत्रे गर्ने तयारी भइरहँदा बाग्लुङ सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडक कालोपत्रे गर्ने योजनामा परे पनि काम हुनसकेको छैन । पूर्वपश्चिम जोड्ने मध्यपहाडी लोकमार्गको बिहुँ खण्डको काम कात्तिक मसान्तभित्र सकिने गरी २०७३ मा सम्झौता भएको थियो ।
सदरमुकाम बागलुङ बजार कटेर पश्चिम लागेपछि मध्यपहाडी लोकमार्गको अवस्था देख्दा लाग्छ, विकास निर्माणका काममा अन्तजस्तै यहाँ पनि कुपोषण लागेकाे छ । वर्षायाममा त लोकमार्ग हो कि, रोपाइँ गर्न तयार पारिएको बाउसेले सम्याएका खेतका गह्रा हुन् ? झुक्किछन् मान्छेहरू ।
पहिरो छल्दै, हिलो छिचोल्दै यात्रा गर्नुपर्छ । मानौँ बागलुङमा हिले रोपाइँ महोत्सव बाह्रैमास हुन्छ । घोडाबाँधे नपुगुन्जेल हिलोको सास्ती हट्दैन ।
पर्यटन वर्षको रौनकमा बागलुङ पनि छ । पर्यटकको आकर्षण ढोरपाटन बागलुङमा अत्यधिक पर्यटक तान्ने क्षेत्र हाे । तर, त्यहाँ जाने सडककाे हालत यस्तो छ कि, सर्वसाधारण नै यातना खेपिरहेका छन् । सांसददेखि सबै सडक बनाउनु पर्ने पक्षमा छन् ।
तर, यसरी निर्माण अलपत्र पार्ने सडककाे पूरानाे ठेकेदार कम्पनीलाइ नै म्याद थपि कामकाे जिम्मा दिने अनाैठाे याेजना भइरहेकाे छ । टाँट पल्टिएको र काम नगर्ने ठेकेदार कम्पनीलाई नै म्याद थप्ने यस्ताे तयारी भित्र कतै जालसाजी त छैन ?
हेर्नुहाेस् मध्यपहाडि लाेकर्मागकाे दुरावस्था
https://www.youtube.com/watch?v=G1t7yhXlNIw&fbclid=IwAR1M0gKKQmtkLjTHCz3-nNFEC5ClndKUlfWyGsZVWp_O0l-TI7qolX4DjOc