राजन पौडेलपर्वत । पहिलो प्राथमिकतामा सरकारी जागिर राख्ने र त्यो सम्भव नभए विकल्पमा ऋणको जोहो गरी विदेशिने प्राय नेपाली युवाहरुको ध्याउन्न हुन्छ । तर गण्डकी प्रदेशका एक युवा भने विगत केही वर्षयता आफ्नै उद्योगमा स्वदेशमै रमाइरहेका छन् ।
लप्सीका विभिन्न परिकार बनाएर स्वदेश तथा विदेशसम्म निर्यात गर्दै एक सफल उद्यमीको रुपमा आफूलाई स्थापित गरिरहेका छन्, पर्वत फलेवास नगरपालिका -४ मुडिकुवाका थानेश्वर भुसाल ।
विभिन्न परिकारका अचार बनाएर उत्पादनबाट आउने गरेका भुसालले सञ्चालन गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगबाट पछिल्लो समय बजारमा आएको पाेषिलो खाजा अत्यन्तै लाेकप्रिय बनेको छ । विशेषगरी बच्चा र वृद्धका लागि उपयोगी हुनेगरी उनले मकै, चना, भट्ट, फापर, बदाम, अलैँची, अदुवा, मरीचलगायतको मिश्रणबाट पाेषिलो खाजा विदेशमा समेत आपूर्ति गर्दै आएका छन् ।
युवा उद्यमी भुसालले बजारमा स्वास्थ्यका लागि हानी पुर्याउने वस्तु मिसाएर उत्पादन भइरहेको सन्दर्भमा आफूले तयार पारेको पाेषिलो खाजाले भने राम्रो बजार पाएको बताए । भुसाल बजारको खाद्यवस्तुले मानिसकाे स्वास्थ्यमा ठुलो असर गरेको अवस्थामा आफ्नो उद्योगमा उत्पादन गरिएको अर्ग्यानिक र पाेषिलो खाजाको माग बढेका कारण निकै खुसी लागेको बताउँछन् । आफूले बनाएको पाेषिलो खाजा जस्तोसुकै बिरामीलाई पनि खान मिल्ने र त्यसले कुनै किसिमको असर नगर्ने उनको भनाई छ । सामुदायिक खाद्य प्रशोधनबाट पछिल्लो समय बजारमा आएको पोषिलो खाजाको माग विदेशमा सबैभन्दा बढी रहेको थानेश्वरले बताए ।
भुसाल भन्छन्, ‘परिमाणको उचित मापन गरी चिनी र नुनको मात्रा मिलाइएका कारण बच्चाहरूको लागि खाजा स्वादिलो हुने भएकोले धेरै ग्राहकले उद्योगमै आएर खाजा खरिद गर्ने गर्दछन् ।’ ‘वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई उक्त खाजा उपहारको रूपमा पठाउने गरेकोे छुँ’, उनले भने ।
पछिल्लो समय सदरमुकाम पर्वत, छिमेकी जिल्ला बागलुङ, कास्की र म्याग्दीमा पनि पोषिलो खाजाको माग बढेको छ । हालै मात्र उत्पादन आरम्भ गरिएको भए पनि मागको अवस्था हेर्दा भने यसले बजारमा राम्रो प्रभाव पार्न सफल भएकोे भुसालको अनुभूति छ । बजारिया खाद्यान्न र खाजाका कारण गाउँघरमा उत्पादन हुने मकै खाने प्रचलन त्यति धेरै नरहेको अवस्थामा मकैलाई नै प्रशोधन गरी स्वादिलो खाजा तयार गर्दा मकै र अन्य गाउँले खाद्यान्न खाने बानीको पनि विकास हुने थानेश्वरको अनुमान छ । खाजामा प्रयोग गरिने कच्चा पदार्थलाई आधुनिक मेसिनबाट पौष्टिकतामा ह्रास नआउने गरी राम्रोसँग भुट्ने गरिएका कारण उत्पादनको ६ महिनासम्म खानको लागि उपयुक्त हुने उनले बताए ।
यस्तो प्रकारको पोषिलो खाजा उत्पादनका लागि गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयबाट अनुदानसमेत आएको थियो । उद्योगबाट लप्सीका बोक्राबाट तयार पारिने गुलियो, अमिलो र पिरो क्यान्डी, लप्सीको गुदीबाट तयार पारिने क्यान्डी, लप्सीको बोक्रालाई सुख्खा बनाएर बनाइएको माडा, लप्सीको जाम, तितौरा, पाउडर, अदुवाको क्यान्डी, सुन्तलाको जाम, अमलाबाट बनाइने अचार, क्यान्डी, मुरब्बा, तितौरा, अचार तथा करेला, मुला र काउलीबाट बनाइने अचारलगायतका परिकार उत्पादन हुँदै आएका छन् । कुनै पनि रासायनिक पदार्थको प्रयोग नगरी स्थानीय प्रविधिबाटै तयार पारिने यस्ता परिकारहरूको माग विदेशमा बढी हुने गरेको उद्यमी भुसालले बताए ।
पोषिलो खाजा उत्पादन सुरुवातकै चरणमा रहेका कारण उपभोक्ताको सुझावअनुसार यसको स्वाद र परिमाणमा परिमार्जन गर्दै उत्पादनलाई अझ व्यापक बनाउने भुसालको योजना छ ।
लप्सीको सिजन सुरु भएपनि पछिल्लोसमय जलवायु परिवर्तनका कारण विगतका वर्षहरुमा जस्तो समयमै लप्सी नपाक्दा विभिन्न परिकार समयमै उत्पादन गर्न चुनौति देखिएको भुसालले जानकारी दिए । भुसाल भन्छन्, 'विगतका वर्षहरुमा मंसिरको सुरुवातसँगै लप्सी टिपेर विभिन्न प्रकारका अचारका परिकार तयार गरिसकिएको भएपनि यो वर्ष भने जलवायु परिर्वतनकै कारण एक महिनापछि धकेलिन पुगेको छ ।'
पछिल्लो समय युवा जनशक्ति विदेशिने लर्को लागिरहेको अवस्थामा आफूजस्तै उद्यमी बनेर नेपालमै केही गर्न थानेश्वर युवाहरुलाई आग्रहसमेत गर्ने गर्दछन् ।