भगीरथ भण्डारी इलाम । सूर्योदय नगरपालिकामा शनिबारदेखी शुरु हुने पाँच दिने प्रथम सूर्योदय नगर पर्यटन महोत्सव २०७६ मा पाँच लाख पर्यटक भित्र्याउने तयारी गरिएको छ । महोत्सवमा आउने पर्यटकका लागि होटल तथा लजको पर्याप्त व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
महोत्सव सञ्चालन गरिने वडा नम्बर १ देखि १२ सम्मका विभिन्न स्थानमा व्यवस्था गरिएका होटेल, लज र होमस्टेको अवस्था हेर्दा पर्यटकका लागि बसोबासको उचित प्रबन्ध गरिएको नगरपालिकाले जनाएकाे छ । महोत्सव सञ्चालन स्थलमा मात्र १५९ होटेल, लज तथा होमस्टेको व्यवस्था गरिएको र ती होटल तथा होमस्टेमा रहेका ८२२ वटा कोठा (लज) हरुमा ३ हजार ८ सय ७४ जनाको बास व्यवस्थापन गर्न सकिने नगरपालिकाले स्पष्ट पारेकाे छ ।
महोत्सवमा वडा नम्बर १ को गोर्खे, २ को पशुपतिनगर, ३ को तीनखुट्टे, ४ को श्रीअन्तु, ५ को समाल्बुङ, ६, ७ र ८ मा पर्ने हर्कटे, कन्याम र पाल्टाँगे क्षेत्र, ९ र १० का बरबोटे, सुन्दरपानी र फिक्कल तथा ११ र १२ मा पर्ने करफोक, पञ्चकन्या र आइतबारे क्षेत्रमा रहेका ती होटल, लज तथा होमस्टे पर्यटकका लागि प्रयोग गरिने भएका हुन् । वडा नम्बर १ को गोर्खे, मानेभञ्ज्याङ, थुम्के र मंगलबारेमा १२ होटेलको व्यवस्था गरिएको छ भने त्यहाँ रहेका ७७ वटा कोठामा २०० जना पर्यटक अट्ने नगरपालिकाको अनुमान छ ।
नगरपालिकाका अनुसार वडा नम्बर २ को पशुपतिनगर बजारमा पनि १२ वटा होटेलमा रहेका ८९ कोठामा ४३३ जना पर्यटक अट्नेछन् । त्यस्तै, वडा नम्बर ३ को तीनखुट्टेमा ७ वटा होटेल तथा लजका ३६ कोठामा ३०० पर्यटक राख्न सकिने जनाइएको छ ।
यता वडा नम्बर ४ को श्रीअन्तु र ५ को समाल्बुङमा पनि होमस्टे, होटल तथा लज गरेर ५६ ठाउँमा बरोबासको व्यवस्था गरिएको छ । ती होमस्टे र होटलमा टेण्ट तथा लज गरेर २८५ वटा कोठा रहेका छन् । त्यहाँ १ हजार ३ सय पर्यटकलाई राख्न सकिने गरी व्यवस्थापन गरिएको छ । यी होटेलहरु धेरैजसो श्रीअन्तुको तकपत, छिरुवा, उत्तरे, भञ्ज्याङ, अन्तुडाँडा र शान्तिबजार तथा आसपासमा रहेका छन् ।
त्यस्तै वडा नम्बर ६ र ७ को कन्याम र हर्कटे बजारमा रहेका १२ वटा होटेलमा ५३ कोठा रहेको र त्यहाँ २५४ जना मानिसलाई बसोबास मिलाउन सकिने जनाइएको छ । वडा नम्बर ८ को पाल्टाँगे तथा शान्तिचोकमा रहेका १३ वटा होटेलका ९५ कोठामा ४५९ जना तथा वडा नम्बर ९ को सुन्दरपानीका ३ होटलमा भएका ११ कोठामा २४ जना अटाइने जनाइएको छ ।
त्यसैगरि वडा नम्बर १० को फिक्कल बजारमा २९ वटा होटल तथा लज व्यवस्था गरिएको छ । त्यहाँका १७० वटा कोठामा ८६५ जनालाई बासको व्यवस्था गर्न सकिन्छ । वडा नम्बर ११ र १२ मा रहेका करफोकमा लज र टेण्टसहितका दुईवटा होटलमा ४५ जनालाई व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ ।
हरेक होटेलमा मेनु राखिने र त्यही अनुसार पर्यटकले सेवा शुल्क तिर्नुपर्ने छ । कुनै असुविधा भए वा होटेल तथा लजहरुप्रति गुनासो भए पर्यटकले तत्कालै नगरपालिकाको सूचना केन्द्रमा जानकारी गराउने व्यवस्था मिलाइएको छ ।
पाँच लाख पर्यटकको आवतजावत हुने प्रथम सूर्योदय नगर पर्यटन महोत्सव २०७६ मा ५ लाख पर्यटकको आवतजावत हुने अपेक्षा गरिएको छ । महोत्सव मूल आयोजक समितिकी संयोजकसमेत रहनुभएकी नगर उपप्रमुख दुर्गादेवी भट्टराईले महोत्सव अवधिमा सूर्योदय नगरपालिकामा ५ लाख पर्यटकलाई आवतजावत गराइने नगरपालिकाको उद्देश्य रहेकाे बताउनुभएकाे हाे ।
महोत्सवको तयारीबारे नगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा उपप्रमुख भट्टराईले पर्यटकका लागि सहज आवतजावत र खानबस्नको उचित व्यवस्थापनमा उच्च ध्यान दिइने बताउनुभएको छ । पर्यटकलाई राख्न होटेल अथवा कुन स्थानमा सहज हुन्छ भन्नेबारे होटल सञ्चालकको सम्पर्क नम्बरसमेत सङ्कलन गरि सूचना केन्द्रबाट पर्यटकलाई जानकारी दिइने व्यवस्था गरिएको उहाँको भनाई छ ।
महोत्सवका क्रममा बास बस्नेगरि आएका पर्यटकका लागि महोत्सव आयोजना स्थल (श्रीअन्तु, समाल्बुङ, कन्याम, फिक्कल, करफोक पञ्चकन्या, गोर्खे, पशुपतिनगर) मध्ये कुनै ठाउँमा बास बस्ने ठाउँ छ, या छैन भन्ने जानकारी लिएर खाली भएको ठाउँमा लैजाने व्यवस्था गरिने पनि उहाँले प्रष्ट पार्नुभयो । त्यसका लागि पर्यटकले समेत निःशुल्क सम्पर्क गरी जानकारी लिन टोल फ्रि नम्बर (फोन) कोसमेत व्यवस्था गरिएको र त्यो बाहेक ०२७५४०५८३ नम्बरको टेलिफोन पनि २४ घण्टा सञ्चालन हुनेगरि सूचना केन्द्रमा व्यवस्थापन गरिएको उपप्रमुख भट्टराई बताउनुभएकाे छ ।
पत्रकार सम्मेलनका क्रममा नगर प्रमुख रणबहादुर राईले पर्यटकका लागि गाडीको भाडादरसमेत निर्धारण गरिएको र भाडादर अनुसार पर्यटकले टिकट पाउने गरी सबै सवारीका सञ्चालकलाई अभिमुखीकरण गरिएको बताउनुभयो । महोत्सवमा आउनेमध्ये नेपाली, अंग्रेजी र बंगाली भाषा नबुझ्ने पर्यटकका लागि ठाउँ - ठाउँमा होर्डिङ बोर्ड राखेर सूचनासमेत उपलब्ध गराउने व्यवस्था गरिएको प्रमुख राईको भनाई छ ।
महोत्सवमा नेपालका विभिन्न भूभाग तथा भारतको दार्जिलिङसहित उत्तर बंगाल, सिक्किम, भुटान, बंगलादेश र अन्य विभिन्न मुलुकका पर्यटक आउने अपेक्षा गरिएको छ ।