शिब बाेहरा
बागलुङ । संघ, प्रदेश र स्थानीय तहका खाली स्थानमा आज शान्तिपूर्ण रूपमा उपनिर्वाचन अन्तर्गत मतदान शुरु भएको छ । जिल्लामा विविध कारणले रिक्त रहेका तीनै तहका विभिन्न पदपूर्तिका लागि मतदान भइरहेकाे हाे । उपनिर्वाचन हुने स्थानहरूमा बिहान ७ बजेबाट मतदान सुरु भइसकेको छ ।
बागलुङ क्षेत्र नम्बर २ (ख) का प्रदेश सांसद टेकबहादुर घर्तीको निधन भएकाे र वडिगाड गाउँपालिका २ का अध्यक्ष बिष्णुप्रसाद भुषाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि यि क्षेत्रमा निर्वाचन हुन लागेकाे हाे । । प्रदेशसभा सदस्यका लागि १० उम्मेद्वार चुनावी मैदानमा छन् ।
प्रदेशसभा सदस्यका लागि सत्तारूढ नेकपा र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली कांग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट नीमबहादुर भण्डारी उम्मेदवार रहेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुवँर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा सन्तोष भण्डारी चुनावी मैदानमा देखिएका छन् ।
यसैगरी, बडिगाड गाउँपालिका वडा नम्बर २ को रिक्त वडाध्यक्ष पदमा सत्तारूढ नेकपा र राष्ट्रिय जनमोर्चाको तर्फबाट नेकपाका ढालप्रसाद शेरचन, नेपाली कांग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल राना चुनावी मैदानमा छन्। मतदानका लागि निर्धारित केन्द्रहरुमा मतदाताहरु लाइनमा बसि आफ्नो मत दायर गरिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबै केन्द्रमा कर्मचारी र स्वयसेवक गरी ४ सय ५ जना कर्मचारी परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । उपनिर्वाचनका लागि २५ मतदान स्थलमा ४५ वटा मतदान केन्द्रहरु तोकिएका छन् । ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका समेटेको क्षेत्र नम्बर–२ (ख) मा ३५ हजार एक सय ८४ र बडिगाड गाउँपालिका–२ मा एक हजार सात सय ४२ मतदाता सहभागी हुनेछन् ।
साँझ पाँच बजे मतदान कार्य सकिए लगतै मतपेटीका सदरमुकाम ल्याउने र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलिय बैठकको निर्णय अनुसार मतगणना हुने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले जानकारी दिनुभएकाे छ ।