काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान गर्न नेपाल प्रहरी अब्बल रहेको धारणा व्यक्त गर्नुभएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत स्नातकोत्तर तहका विभिन्न संकायका विद्यार्थीहरुबीच आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा खनालले उक्त धारणा व्यक्त गर्नुभएको हो ।
राज्यको अग्रपंक्तिमा रहेर कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीका जिम्मेवारीमध्ये अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा लगायत रहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रण गर्नका लागि प्रविधिको साथसाथै प्रहरीको उपस्थिति अपरिहार्यरहेको बताउनुभयो ।
सीमावार्ती अपराध, लागूऔषध, साइबर अपराध तथा सामाजिक संजालको दुरुपयोग जस्ता गतिविधिहरु अहिलेको चुनौतिको रुपमा रहेको चर्चा गर्दै खनालले त्यस्ता अपराध नियन्त्रण गर्नका लागि सुरक्षा निकायको मात्रै नभई सबै समुदायको सहयोग र सहकार्यको महत्व रहने उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक खनालले विद्यार्थीहरुको जिज्ञासाहरुको निरुपण गर्दै विगतको भन्दा बोली, वचन र व्यवहारमा परिस्कृत भई थप उत्कृष्ट नागरिक केन्द्रीत सेवा प्रदान गर्ने बताउनुभयो । समुदायको सूचनाको महत्व र यसले अपराध नियन्त्रणमा खेलेको भूमिकाको सराहना गर्दै उहाँले शंकास्पद गतिविधि देखेमा प्रहरीलाई तत्कालै खबर गर्न समेत विद्यार्थीलाई आग्रह गर्नुभयो । अन्तरक्रियामा सहभागी विद्यार्थीले शान्ति सुरक्षा, प्रहरीको कार्य, ट्राफिक व्यवस्थापन लगायतका विषयमा विविध जिज्ञासा राखेका थिए ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री, त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका प्रमुखहरु लगायत प्रहरी वरिष्ठ अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।