शिब बाेहरा
बागलुङ । क्षेत्र नम्बर २ ‘ख’ प्रदेशसभा सदस्यको उपनिर्वाचनमा वाम गठबन्धनका उम्मेदवार खिम विक्रम शाही विजयी भएका छन् । आइतबार दिउँसो १२ः४० बजे शुरु भएको मतगणना सोमबार राति १ः३० बजे मात्र अन्तिम नतिजा सार्वजनिक भएको हो ।
शाही ११ हजार २३५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीत शेरचनले ९ हजार १३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयाे ।
शाही जीत शेरचनसँग दुई हजार ९७ मतान्तरले विजयी भएका हुन् । नेकपाले केन्द्रिय निर्णय अनुसार बागलुङमा राष्ट्रिय जनमोर्चालाई समर्थन गरेको थियो ।
त्यस्तै, समाजवादी पार्टीका अशोककुमार विकले ३१६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का निमबहादुर भण्डारीले ३६, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवरले ३७ मत ल्याएका छन्। राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३, सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राइले ८, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरले ४५ तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्तीले ९५ र सन्तोष भण्डारीले २८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । यस्तै ३१६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका रहेको यस क्षेत्रमा कुल मतदाता संख्या ३५ हजार १८४ रहेकोमा जम्मा २१ हजार चार सय मत खसेको छ । गत चुनावमा कुल मतदाता संख्याको ६५ प्रतिशत मत खसेको यस क्षेत्रमा अहिले ६१ प्रतिशत मात्र मत खसेको हो ।
२०७४ सालमा यो क्षेत्रमा जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८८४ मत पाएर विजयी हुनुभएको थियो । त्यतिबेला कांग्रेसका जितबहादुर शेरचनको ८ हजार ६२४ मत थियो ।