आनन्द गुरुङ
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियो भास्कुलर केन्द्रले जनाएको छ ।
'एपेन्डिसाइटिस' भएपछि गत मंगलबार बिहान अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको सोही दिन अपरान्ह एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भूटानी प्रधानमन्त्री डाक्टर लोटे छिरिङले पनि स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।
शनिबार भारतीय दूतावासमार्फत प्राप्त भएको पत्रमा प्रधानमन्त्री मोदीले ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै भुटानका प्रधानमन्त्री डाक्टर लोटे छिरिङले पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भरतपुर उपमहानगरपालिकाकी मेयर रेणु दाहालले आइतबार मनमोहन कार्डियो भास्कुलर केन्द्र त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको थियो ।
यता, प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएस‘गै मृगौला प्रत्यारोपणको तयारी समेत भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । धेरैपटक डायलसिस भइसकेकाले जतिसक्दो चॉडो मृगौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सल्लाह अनुसार सचिवालयले प्रत्यारोणको तयारी गरेको हो । यस अघि सिंगापुरमा नियमित परिक्षण र उपचार गर्दै आउनुभएका ओलीको मृगौला प्रत्यारोपण अमेरिका वा रुस कुन देश र कुन अस्पतालमा गर्ने ? भन्ने निक्र्यौल भइनसकेको सचिवालयले जनाएको छ ।
त्यसैगरी, मृगौलादाताको पनि निधो नभएको सचिवालयले जानकारी दिएको छ । तर, चिकित्सकको सल्लाह र सहयोगमा जतिसक्दो छिट्टै मृगौला प्रत्यारोपण गर्ने तयारीमा चिकित्सक सहित सचिवालय लागि परेको छ । सचिवालयका अनुसार आगामी हप्ता मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री देशबाहिर जाने तयारी भइरहेको छ ।