कालिकोट । रूपान्तरण नेपाल नामक सामाजिक संस्थाले कालिकोटका विद्यार्थीलाई जापानी झोला वितरण शुरु गरेको छ । रूपान्तरण नेपालले यू एण्ड मी नेपाल-जापानको सहयोगमा कर्णालीका सार्वजनिक विद्यालयका ४ देखि ८ कक्षासम्म अध्ययनरत १५ हजार विद्यार्थीहलाई झोला उपहार स्वरूप वितरण गरिरहेको हो ।
रूपान्तरण नेपालले कालिकोटको पलाँतामा २६ सय विद्यार्थीलाई ‘जापानी झोला सहयोग कार्यक्रम’ अन्तर्गत वितरण गरेको छ । केहि समयअघि आगलागी भएको जिल्लाको पलाँता गाउँपालिकाका २ हजार ६ सय विद्यार्थीलाई प्रतिनिधिसभा सांसद दुर्गबहादुर रावतको प्रमुख आतिथ्यतामा झोला वितरण गरिएको हो ।
‘जापानी झोला सहयोग कार्यक्रम’ मा बोल्दै सांसद रावतले रूपान्तरण नेपाल र यु मी नेपाल (जापान) को संयुक्त पहलमा कर्णाली प्रदेशका दुरदराजका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई सात समुन्द्र पारीबाट झोला पठाइएको भन्दै प्रसंशा गर्नुभयो । उहाँले हातमा किताब कापी च्यापेर विद्यालय जान बाध्य विद्यार्थीहरूलाई यो कोसेलीले पढाई प्रति उत्प्रेरित गर्ने पनि अपेक्षा गर्नुभएको छ ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि तथा पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले जापानी झोला सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि अमूल्य उपहार भएको र आफू पनि पलाँता शैक्षि सुधारमा अहोरात्र खटिरहेको उल्लेख गर्नुभयो । अध्यक्ष बमले पलाँताका सम्पूर्ण विद्यार्थीलाई समेट्ने गरी जापानबाट बालबालिकाका लागि झोला उपलब्ध गराएकोमा रूपान्तरण नेपाल र यु एण्ड मी नेपाल–जापानलाई विशेष धन्यवादसमेत दिनुभयो ।
रूपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले कर्णाली प्रदेश प्राकृतिक रूपमा स्रोत साधनले सम्पन्न भएता पनि दक्ष जनशक्ति विकासमा निकै पछाडि रहेकाले गुणस्तरीय शिक्षामा संस्थाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष शाहीले यसपछि दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका, जाजरकोटको भेरी नगरपालिका, सल्यानको शारदा नगरपालिकाका सार्वजनिक विद्यालयमा कक्षा ४ देखि ८ सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई झोला वितरण कार्यक्रम तय भइसकेको जानकारी दिनुभएको थियो । त्यस्तै सुर्खेत वीरेन्द्रनगरमा दृष्टिविहिन, बहिरा र बौद्धिक अपाङ्ग विद्यार्थी पढ्ने ३ विद्यालयका विद्यार्थीलाई समेत जापानी झोला वितरण गरिने शाहीको भनाई छ ।
यू एण्ड मी नेपाल -जापान, जापानी र नेपाली युवाहरूद्वारा स्थापित विशेषतः नेपालमा शिक्षा क्षेत्रमा काम गरिरहेको अन्तराष्ट्रिय गैह्र सरकारी संस्था हो ।
जापानी झोला सहयोग कार्यक्रम स्थानीय तहको स्थलगत अनुसन्धान गरी ४ देखि ८ कक्षासम्मका सम्पूर्ण विद्यार्थीको सङ्कलित तथ्याङ्कका आधारमा संचालित कार्यक्रम भएको रुपान्तरण नेपालले जनाएको छ । जापानी झोला वितरण कार्यक्रम पौष ५ गतेसम्म चल्ने बताइएको छ ।