पुष्पराज अधिकारीहेटौंडा । एकलाख रुपैँया राशीको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट भाषा, संगीत, साहित्य कला एंव सस्कृतिविद चेतन कार्कीलाई सम्मान गरिएको छ ।
भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले सोमबार हेटौँडामा कार्कीलाई सम्मान गरेको हो । कार्यक्रममा २० हजार राशीको विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार लोक गायिका कोमल वलीलाई प्रदान गरिएको छ ।
प्रतिष्ठानले १० हजार राशीको तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार मकवानपुरकी साहित्यकार अनिता न्यौपाने, ७ हजार ५ सय राशीको भीम मथुरा बाल प्रतिभा पुरस्कारबाट हेटौडाका चिराग डंगोल, १५ हजार नगद राशीको शीला नारी संगीत पुरस्कारबाट हेटौंडाकी गायिका विद्या तिवारीलाई सम्मान गरिएको छ । यसैगरी २५ हजार राशीको हर्षनर बज्राचार्य स्मृति पुरस्कारबाट नाट्यकर्मी कुमार शाहलाई सम्मान गरिएको छ ।
मकवानपुरे साहित्यकार निमेष निखिललाई ११ हजार १ सय ११ रुपैंया राशीको चिनु कुमारी लामा स्मृति साहित्य पुरस्कार र स्वास्थ्य क्षेत्रमा लामो समय स्वंयमसेवीको कार्य गर्नुभएकी चम्पा कोजुलाई प्रतिष्ठानले १० हजार राशीको मङ्गलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कारबाट सम्मान गरेको छ । गायक, संगीतकार तथा गीतकार जगत मर्दन थापाले सम्मान गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष तुलसी थापा, साहित्यकार प्रकाश सायमी लगायतले मन्तव्य व्यक्त गरेका थिए । वरिष्ठ संगीत साधक, कवि एवं गीतकार भीम विराग जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष उज्वल शर्मा भण्डारीले बताए ।
प्रतिष्ठानले हालसम्म विजुलीमा वन ः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट अम्बर गुरुङ(२०६४), प्रेमध्वज प्रधान(२०६५), भक्तराज आचार्य(२०६६), फत्तेमान राजभण्डारी(२०६७), शान्ति ठटाल(२०६८), प्रकाश श्रेष्ठ(२०६९), दीप श्रेष्ठ(२०७०), न्हुच्छे बहादुर डंगोल(२०७१), मीरा राणा(२०७२) र कर्म योन्जन(२०७३) लाई प्रदान गरिसकेको छ ।