काठमाडौं । तीन दशकभन्दा बढी समय संगीतक्षेत्रमा क्रियाशील फ्युजन गिटारिष्ट, संगीतकार तथा गायक अनिल शाहीको एकल सांगीतिक साँझ ‘द सुल्तान अफ स्ट्रीङ अनिल शाही लाइभ इन कन्सर्ट’ सम्पन्न भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका स्टेज कार्यक्रमहरुबाट समेत ख्याती कमाएका शाहीले ६ वर्षको अन्तरालपश्चात गत सोमबार राष्ट्रिय नाचघर जमलमा एकल प्रस्तुती ‘द सुल्तान अफ स्ट्रीङ अनिल शाही लाइभ इन कन्सर्ट’ को आयोजना गरेका हुन् ।
जनता टेलिभिजनले मिडिया पार्टनरको रुपमा सहकार्य गरेको उक्त कार्यक्रममा नेपाली मौलिक बाजा र मोर्डन बाजाहरुको संयोजनसहितको केही फ्युजन लाइभ म्यूजिकहरु प्रस्तुत गरिएको थियो । दर्शकहरुको उत्साहजनक उपस्थितिमा राष्ट्रिय नाचघरको मिनि हलमा गिटार, मादल, तबला, बासुरी, पक्र्यूसन, नेपाली लोकबाजा सारंगी र अष्ट्रेलियन बाजा डिजरिडुको धूनमा दर्शकहरु मन्त्रमुग्ध बनेका थिए ।
कार्यक्रममा शाहीलाई प्रसिद्ध सारंगीवादक श्याम नेपाली, बासुरीवादक बिनोद कटुवाल र बिनय महर्जन, पक्र्युसनिष्ट अभिजित शाही, तबलावादक दिलिप किपु, गिटारिष्ट सनिश महर्जन, गायिका प्रविशा अधिकारी र सुनिता कार्कीले प्रस्तुतीमा साथ दिएका थिए । करिब २ घण्टा सञ्चालन भएको कार्यक्रममा संगीतकार तथा गिटारिष्ट शाही, सारंगीवादक श्याम नेपाली, गायिका प्रविशा अधिकारी र गायिका सुनिता कार्कीले केही गीतहरु समेत प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा संगीत तथा अन्य क्षेत्रका चर्चित व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।