हुमाकान्त पोखरेलबागलुङ । मंगलबार बागलुङको बडिगाढ गाउँपालिका ७ अल्छीबाङ्गमा जिप दुर्घटनामा ज्यान गुमाएकाहरुको सामुहिक दाहासंस्कार गरिएको छ । इस्मा गाउँपालिका–४ र ५ का १० जनाको सामुहिक दाहासंस्कार गरिएको हो ।
दुर्घटनामा मृत्यु भएका इस्मा गाउँपालिका–४ का ४० वर्षीय महेन्द्र कार्की, २५ वर्षीय सुचना कार्की, ४० वर्षीया सीता कार्की, ६५ वर्षीया झवि कार्की, ४५ वर्षीया भुमी कार्की, २५ वर्षीया मीना वस्नेत, ६५ वर्षीय धन बहादुर कार्की र दुई वर्षीया अनुस्का कार्की त्यसैगरी इस्मा गाउँपालिका–५ की ४० वर्षीया बसुन्धरा कार्की र २३ वर्षीया माया थापाको सामुहिक दाहासंस्कार गरिएको स्थानीय लंक बहादुर बस्नेतले बताए ।
कञ्चनपुरबाट पहिलो पटक कार्की दाजुभाई खोज्दै कुल पुजाको लागि इस्मा आएका ५५ वर्षीय धन बहादुर कार्कीको पनि दुर्घटनामा मृत्यु भयो । उनको शव बुर्तिबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । उनका आफन्त आएपछि बुझाउन शव अस्पतालमै राखिएको भतिज बद्री कार्कीले जानकारी दिए । बाग्लुङ बडिगाड गाउँपालिका–५ की ५५ वर्षीया लक्ष्मी केसीको शव आफन्तले गाउँमै बुझेर दाहासंस्कार गरेका छन् । लक्ष्मी घरबाट गाडी चढेको दुई मिनेटमै दुर्घटनामा परेकी थिइन् ।
इस्मा गाउँपालिका–४ का गाडी चालक २५ वर्षीय रेशम थापाको शव मंगलबारनै परिवारले बुझेका थिए । उनको निस्ती दोभानमा बुधबार बिहान दाहासंस्कार गरिएको स्थानीय राम बहादुर रेश्मीले जानकारी दिए । नवलपरासी वर्दघाट नगरपालिका–२ की ६० वर्षीया मुना कार्कीको शव नवलपरासी लगिएको छ ।
बेपत्ताको खोजी, घाइतेको उपचारदुर्घटनामा परेका इस्मा गाउँपालिका- ४ दोहोलीका धन बहादुर कार्की अहिलेसम्म पनि वेपत्ता छन् । उनकै बुहारी सुचना कार्कीको मृत्यु भयो । नाती चार बर्षीय हिमाल कार्की अस्पतालमा छन् । मंलबार दिनभर दुर्घटना स्थलमा खोजतलास गरेपनि शव भेटिएको छैन् ।
दुर्घटनामा नवलपरासी वर्दघाट नगरपालिका–२ का १८ बर्षीय जीवन कार्की, गुल्मी इस्मा गाउँपालिका–४ का चार बर्षीय हिमाल कार्की र २४ बर्षीया निमा केसी घाइते छन् । घाइतेहरुलाई हेलिकप्टरमार्फत उपचारको लागि काठमाडाैं लगिएको छ । अहिले त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
गाउँपालिकाद्वारा शोक बिदादुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकाशं इस्मा गाउँपालिकाका छन् । जसले गर्दा इस्मा गाउँपालिका र सिङ्गो जिल्ला शोकमा डुबेको छ ।इस्माका पनि विशेषगरि कार्की र बस्नेत परिवार बढी शोकमा छन् । कतिका सिन्दुर पुछिएका छन्, भने कतिका काख रित्तिएका छन् । दुर्घटनामा इस्मालीहरुले ज्यान गुमाएको भन्दै गाउँपालिकाले बुधबार शोक बिदा दिने निर्णय गरेको छ ।
मंगलबार कुलपूजाको लागि हिँडेका इस्मा गाउँपालिका ४ र ५ का १४ जनाको दुर्घटनामा मृत्यु भएपछि गाउँपालिकाले एक दिने शोक बिदा गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । उहाँले तत्काल कार्यपालिकाको बैठक बसेर मृतक तथा घाइते परिवारको लागि पनि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।