भगीरथ भण्डारीइलाम । माङसेबुङ क्षेत्र धुम्रपान, मध्यपान, मासुमंस, निषेधित क्षेत्र हो । माङसेबुङ गाउँपालिकाको वडा नम्बर ५ र ३ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रमा जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमा जाँडरक्सी, मासुमंस, धूम्रपान, जुवातास, लागुऔषध, हुलहुज्जत तथा अश्लिल कार्य निषेध गरीएको छ ।
पहिलो पटक माङसेबुङ पुग्ने जो कोहीलाई अनौठो लाग्छ । घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा राता र सेता रङ्गका ध्वाजा साथै सूर्य अङ्कित अर्को ध्वाजा राखिएका छन् । किराँतहरुको धार्मिक स्थल माङसेबुङका करिब १५ सय बढी घरमा यस्तै ध्वजा राखिएको छ ।
गाउँमा मासुमंस, जाँड, रक्सी सेवन गर्न मनाइ छ । गाउँलाई मासु, जाँड, रक्सी निषेध गरी शाकाहारी घोषणा गरिएको छ । बाहिरबाट जाने मानिसलाई पनि कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोटसमेत सेवन गर्न निषेध गरिएको स्थानीय बताउँछन ।
किरात लिम्बू भाषाअनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात देवता (इश्वर) ले छानेको ठाउँ भएको विश्वाससहित माङसेबुङ करिब दुइ दशक अघि नै लारुम्बाबाट माङसेबुङमा रुपान्तर भएको बताइन्छ । त्यस समयदेखि किरात धर्म मान्नेहरुले माङसेबुङलाई धार्मिक आस्थाको केन्द्रको रुपमा लिन थालेका हुन् ।
लिम्बू समुदायको बसोबास रहेको माङसेबुङलाई किरात धर्मगुरु मुहिङ्गगुम अङ्गसीमाङ्ग लिङ्गदेन आत्मनन्द सेइङ्ग (आत्मनन्द लिङ्गदेन) को कर्मथलोको रुपमा विकास गरिएको छ । वर्षेनी मंसिर १८ गते धर्मगुरु लिङ्गदेनको शुभ जन्मोत्सवलाई त्यहाँ धार्मिक उत्सवको रुपमा मनाइन्छ ।
दुई दशकदेखि धार्मिक स्थलको रुपमा विकास भएको माङसेबुङमा अहिले करिब १० हजार जनसंख्या रहेका छन् भने यहाँ विशेष गरी गुरुको जन्मोत्सव र मंसिरे पूर्णिमा तथा वैशाखे पूर्णिमालाई विशेष पर्वका रुपमा मनाइने गरिन्छ । झापाको दमकदेखि करिब १३ किलोमिटर उत्तर कच्ची मोटरबाटोको यात्रा तय गरेर माङसेबुङ पुग्न सकिन्छ ।