–खेम बमकाठमाडौं – मुलुक संघीय संरचनामा गइसकेपछिको पहिलो पटक प्रदेश संसद अन्तर्गत ७ वटै प्रदेशमा प्रथम प्रदेशसभा बैठक आह्वान गरिएको छ । संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सम्बन्धित प्रदेशका प्रमुखले बैठक आह्वान गर्ने व्यवस्था रहेको छ । सोही अनुरुप प्रदेश प्रमुखले बैठक आह्वान गरेका छन् ।
प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । अहिले बैठकका लागि सबै प्रदेशमा भौतिक संरचना, बैठक सञ्चालनको खाकालगायत आवश्यक तयारी भइरहेको छ ।
प्रदेश नम्बर १ मा माघ २२ गते बिहान ११ बजे पहिलो बैठक बस्न लागेको छ । प्रदेश प्रमुख गोविन्द सुब्बाले माघ २२ गते बैठक बोलाउने गरी आवश्यक तयारीमा थालेका छन् ।
प्रदेश नम्बर २ मा माघ २१ गते बिहान ११ बजे पहिलो बैठक बस्न लागेको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले जनकपुरस्थित शैक्षिक तालिम केन्द्रमा बस्नेगरी बैठक बोलाएका हुन्। उक्त बैठकका लागि सभाहलभित्र फर्निचर तथा सजावटको काम जारी रहेको छ । जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) को कबर्ड हललाई स्थायी रुपमा प्रदेशसभा भवनका रुपमा प्रयोग गर्ने योजना छ ।
प्रदेश नम्बर ३ मा माघ १८ गते प्रदेशसभाको बैठक बस्ने भएको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाले मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडामा बस्नेगरी पहिलो बैठक आह्वान गरेकी हुन् । दिउँसो १ बजे बस्ने बैठकको तयारी भइरहेको छ ।
प्रदेश नम्बर ४ मा यही माघ २२ गते प्रदेशसभाको पहिलो बैठक बस्ने तय भएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले पोखराको नदीपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बस्नेगरी बैठक आह्वान गरेका छन् ।
प्रदेश नम्बर ५ मा प्रदेशसभाको बैठक माघ २१ गते बस्ने भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले बुटवल उद्योग वाणिज्य संघको सभाहलमा बैठक आह्वान गरेका छन् । बैठक दिउँसो १ बजे बस्नेछ ।
प्रदेश नम्बर ६ मा बैठकको मिति टुंगो लागिसकेको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालका अनुसार पहिलो बैठक माघ २१ गतेका बस्ने गरी तय भएको छ । ६ नम्बरको बैठक वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा बस्नेछ ।
प्रदेश नम्बर ७ मा माघ २१ गते बैठक बस्ने भएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले धनगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा प्रदेशसभा बैठक बोलाएका छन् । बैठक दिउँसो १ बजेदेखि सुरु हुने बताइएको छ ।
नेपालमा नयाँ अभ्यासका रुपमा रहेको प्रदेशसभाका सम्बन्धमा संविधानको भाग १३, १४, १५ र १६ मा क्रमशः प्रदेश कार्यपालिका, प्रदेश व्यवस्थापिका, प्रदेश व्यवस्थापन कार्य्विधि र प्रदेश आर्थिक कार्यप्रणालीको व्यवस्थाका साथै अन्य धारा एवम् अनुसूचीमा प्रदेशसभासँग सम्बन्धित विषय उल्लेख गरिएको छ ।
संविधानको धारा १८४ उपधारा १ मा प्रदेश प्रमुखले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थितिको आह्वान गर्न सक्ने उल्लेख छ । सातै प्रदेशमा संघियता लागु भएपछिको पहिलो प्रयास जारी छ ।