दैलेख । रुपान्तरण नेपालले दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका विद्यार्थीलाई जापानी झोला उपहारस्वरूप वितरण गरेको छ । शनिबार चामुण्डा कलेजमा एक कार्यक्रम आयोजना गरी रूपान्तरण नेपालले जापानी झोला वितरण गरेको हो । युमी नेपाल, जापानको सहयोग र चामुण्डाविन्द्रासैनी नगरपालिकाको समन्वयमा नगरपालिका अन्तर्गत सार्वजनिक विद्यालयका ४ देखि ८ कक्षासम्म अध्ययनरत विद्यार्र्थीलाई झोला उपहार स्वरूप वितरण गरिएको छ ।
‘जापानी झोला सहयोग कार्यक्रम’ अन्तर्गत रूपान्तरण नेपालले सार्वजनिक विद्यालयमा पढ्ने ४ हजार विद्यार्थीलाई पढाइप्रति थपउत्प्रेरित बन्न मद्दत पुगोस् भन्ने ध्येयले झोला वितरण गरेको हो । उपहार स्वरूप वितरण गरिएका सुविधायुक्त जापानी झोलाहरु पानीजहाजमा २ महिना लगाई समुद्री मार्गबाट नेपाल ल्याइएको रूपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले बताउनुभयो । उहाँले कर्णाली प्रदेश प्राकृतिक रूपमा स्रोत साधनले सम्पन्न भए तापनि दक्ष जनशक्ति विकासमा निकै पछाडि रहेकाले गुणस्तरीय शिक्षामा संस्थाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले चामुण्डाविन्द्रासैनी नगरपालिकाका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई सात समुद्र पारीबाट झोला पठाइएको सन्दर्भमा खुशी व्यक्त गर्दै कर्णाली समृद्धिका लागि शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभयो । ‘जबसम्म शिक्षालाई गुणस्तरीय बनाउदैनौँ तबसम्म विकासले तीव्र गति लिदैन ।’ उहाँले भन्नुभयो,‘विकासलाई तीव्र गतिमा अघि बढाउन शिक्षालाई नै प्रथामिकतामा राख्नुपर्छ । सार्वजनिक शिक्षामा सुधार ल्याउन समुदाय स्तरमा नै ठूलो जागरण अभियानको जरुरी भएको बताउदै शाहीले जापान शिक्षाकै कारणले विकसित भएको उदाहरण समेत दिनुभयो ।
कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका मेयर सूर्यबहादुर शाहीले शिक्षालाई गुणस्तरीय बनाउन सबै निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । राज्य एक्लै जिम्मेवार भएर शिक्षामा गुणस्तर कायम गर्न सम्भव नहुने बताउदै मेयर शाहीले शिक्षालाई गुणस्तरीय बनाउन अभिभावक, विद्यार्र्थी र विद्यालय व्यवस्थापन समिति जिम्मेवार हुनुपर्ने बताउनुभयो । नगरपालिकाले सार्वजनिक शिक्षालाई सुधार गर्न स्थानीय पाठ्यक्रम र अभिभावक माला तयार पारिसकेको जानकारी दिदै मेयर शाहीले भन्नुभयो, ‘जापानी झोला सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्र्थीका लागि अमूल्यउपहार हो ।’
यसैगरी उपप्रमुख ताराकुमारी शाही (खत्री)ले सम्पूर्ण विद्यार्थीलाई समेट्ने गरी जापानबाट बालबालिकाका लागि झोला उपलब्ध गराएकोमा रूपान्तरण नेपाल र युमी नेपाल, जापानप्रति आभार व्यक्त गर्नुभयो । यो सहयोगले झोला नभएर बालबालिकाहरू विद्यालय जानबाट वञ्चित हुनु नपर्ने विश्वास व्यक्त गर्नुभयो ।
युमी नेपाल, जापानको टोकियो विश्वविद्यालयमा विद्यावारिधि गरिरहनु भएका नेपाली युवा शरद राईको अध्यक्षतामा नेपाली र जापानी युवा प्रतिभाहरूद्वारा स्थापित विशेषतः नेपालमा शिक्षा क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाहो ।
जापानी झोला सहयोग कार्यक्रम स्थानीय तहको स्थलगत अनुसन्धान गरी ४ देखि ८ कक्षासम्मका सम्पूर्ण विद्यार्थीहरूको सङ्कलित तथ्याङ्कका आधारमा संचालिन गरिएको रुपान्तरण नेपालले जनाएको छ ।