नेपालगञ्ज । बाँकेको कोहलपुरमा आइतबार बिहान विद्यालय जाँदै गरेकी एक छात्रालाई ट्रकले किचेर गम्भीर घाइते बनाएपछि शुरु भएको आन्दोलन नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यूआदेश जारी गरेको छ ।
बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ ।
आन्दोलनकारीले इलाका प्रहरी कार्यालय नै जलाउने प्रयास गरेपछि बिग्रंदै गएको अवस्थालाई हेरेर अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले बताउनुभएको छ ।
कोहलपुर १० स्थति त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्दलाई कोहलपुरबाट नेपालगञ्ज आउँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेपछि विद्यार्थीहरु आन्दोलित भएका थिए ।
घटनामा छात्रा चन्दको दुबै खुट्टा पूर्णरुपमा पिसिएको र उनको अवस्था गम्भीर रहेकोले नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि आक्रोसित स्थानीय, विद्यार्थी तथा अभिभावकले ट्रकमा आगो लगाएर पूर्ण क्षति पु¥याएका छन् भने अन्य केही सवारी साधनमा पनि तोडफोड गरेका छन् ।उनीहरुले प्रदर्शन गर्दै कोहलपुर बजार बन्द गराएर ईलाका प्रहरी कार्यालय घेराउ समेत गरेका थिए । प्रहरी कार्यालय भित्रको क्यान्टिनमा समेत उनीहरुले आगो लगाउने प्रयास गरेका थिए ।
यसैबीच प्रहरी र स्कुले विद्यार्थीबीच कोहलपुरको विभिन्न ठाउँमा झडप भएको छ । झडपका कारण आइतबार करिब पाँच घण्टा कोहलपुर तनावग्रस्त भएको थियो । स्थिति सामान्य बनाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले चलाएको गोली लागी त्रिभुवन मा.वि. कक्षा ९ मा पढ्ने सुशीला थापा गम्भीर घाइते भएकी छन् । घाइते थापाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले सयौं राउण्ड हवाई फायर गर्नुका साथै अश्रुग्याँस समेत प्रहार गरेको थियो ।
घटनामा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाही लगायत दर्जनभन्दा बढी प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ट्रक चालकलाई प्रहरीले आन्दोलनकारीबाट जोगाएर नियन्त्रणमा राखेकोे छ ।