राजन पौडेलपर्वत । पछिल्लो केही वर्षयता युवा जनशक्ति विदेश पलायन बढ्दो भएका कारण पर्वतमा कोदो उत्पादन हुने क्षेत्र बाँझोमा परिणत भएको छ । कोदो उत्पादन हुने क्षेत्रमा काम गर्ने युवाकाे कमीका हुनुका साथै बाँदर आतंक हुन थालेपछि भएका स्थानीयहरूले कोदो खेतीमा निरुत्साहित भएका हुन् ।
बढ्दो बसाइसराई र युवा पुस्तामा कोदोको परिकार लोकप्रिय हुन नसक्दा कोदो विस्थापित हुन थालेको हो । साथै पर्वतका विभिन्न ठाँउमा पछिल्लो समय बाँदर आतंकले पनि हैरानीमा पारेको छ । कोदोलाई खानाको रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग हुन थालेपछि कोदोको उत्पादनमा ह्रास आएको हो । बाँदरको आतंक र तराईबाट बोरामा चामल आउन थालेपछि कोदो खेती विस्थापित भएको स्थानीय बताउँछन् ।
पर्वतको २८ हजार ५ सय ९२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये ८ सय हेक्टरमा कोदो खेती हुने गरेको कृषि ज्ञान केन्द्र कार्यालय पर्वतको तथ्याङ्क छ । कतिपय ठाउँमा विभिन्न समस्याका कारण कृषकहरूले कोदो खेती छोड्दै गएको भए पनि पछिल्ला तीन वर्षयता कोदो लगाउने कृषकहरूको संख्या क्रमशः बढ्दै गएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए ।
चिकित्सा विज्ञानले खाद्यान्नको रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । कोदोमा चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीहरूका लागि कोदो राम्रो मानिन्छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका तत्वहरु पाइन्छ । तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिन्छ ।