भगिरथ भण्डारीइलाम । युवा व्यवसायीहरुले जिल्लामा पहिलोपटक व्यवसायिक फुटसलको शुरुवात गरेका छन् । व्यवसायीहरु रोशन राई र सुरेन्द्र राईले स्थापना गरेको 'इलाम स्पोर्ट सेन्टर' द्वारा संचालित फुटसलको मंगलबार औपचारिक उद्घाटन गरिएको हो ।
इलाम नगरपालिका प्रमुख महेश बस्नेतले एक समारोहबीच पहिलो पटक स्थापित फुटसलको उद्घाटन गर्नुभएको हो । उद्घाटनमा मन्तव्य राख्नुहुँदैै नगर प्रमुख बस्नेतले जिल्लामा नयाँ खेललाई व्यवसायको रुपमा अगाडि बढाइने भन्दै फुटसलको व्यवसायिक सफलताको अपेक्षा गर्नुभयो । बस्नेतले फुटसललाई व्यवसायिक बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
व्यवसायिक फुटसलका लागि इलाम नगरपालिका -९ काफ्ले गाउँमा सुविधासम्पन्न फुटसल कोर्ट निर्माण गरिएको छ । करिब १ करोड रुपैयाँको लागतमा सुविधासम्पन्न फुटसल कोर्ट निर्माण गरिएको इलाम स्पोर्ट सेन्टरका संचालक रोशन राईले बताए । राईले २ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएर ट्रस्ट र कार्पेट लगाइसकिएको जानकारी दिए ।
रातको समयमा समेत फुटसल खेल्न सकिने गरी व्यवस्थापन मिलाइएको संचालक राईले बताएका छन् । ‘इलाममा इन्डोर गेमको विकास र खेल पर्यटन प्रोत्साहनका लागि व्यवसायिक फूटसलको शुरुआत गरिएको उहाँको भनाइ छ ।
कसरी खेलिन्छ फुटसल ? फुटसल फुटबलको नै एउटा ब्रान्ड हो । फुटबलबाट नै फुटसल आएको हो । फुटबलको सानो रुप नै फुटसल हो । सन् १९३० बाट औपचारिक रूपमा ब्राजिलबाट शुरु भएको फुटसल खेल पछिल्लो समय नेपालमा पनि लोकप्रिय बन्दै गइरहेको छ । फुटबल ९० मिनेट खेलाइन्छ भने फुटसल ४० मिनेट र ५/५ जना खेलाडीहरु मात्रै खेल्न सक्छन् । यस खेलका अधिकांश नियम फुटबलसँग मेल खान्छन् । तर एकमात्रै नमिल्ने भनेको यसमा हातले थ्रो हुँदैन । थ्रोलाई खुट्टाले नै प्रहार गरिन्छ ।
अन्तराष्ट्रियस्तरको फुटसल पिचको आकार ४०—२० मिटरको हुने गर्दछ । फुटसलमा एक समूहमा ५ जना गरी दुई समूहमा जम्मा १० जनाले खेल्ने गरिन्छ ।
धेरैजसो नियम फुटबलसँग मिल्ने यस खेललाई फुटसल पिच र फुटसल बलबाट मात्र खेल्ने गरिन्छ । यो खेल हलभित्र खेलिने हुनाले यसलाई इन्डोर फुटबल पनि भन्ने गरेको पाइन्छ ।