चितवन । जनताकर्मी बिना श्रेष्ठ सम्मानित हुनुभएको छ ।
लक्की मिडिया हाउस चितवनमा आयोजना गरेको कलाकार सम्मान तथा चलचित्र 'कवडी कवडी कवडी' को विशेष शो कार्यक्रममा जनताकर्मी श्रेष्ठ सम्मानित हुनुभएको हो ।
कार्यक्रममा नेपाली सिने तथा कला क्षेत्रका कलाकार, पत्रकार तथा व्यवसायी एवं समाजसेवीलाई सम्मान गरिएकाे थियो । सिजी ल्याण्ड मार्कमा सोमबार चलचित्र 'कबडी कबडी कबडी' को विशेष शोको अवसरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठद्वारा कलाकार, पत्रकार तथा व्यवसायी एवं समाजसेवीलाई सम्मान गरिएको हो ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा करिब एक दर्जन व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने कलाकारतर्फ वरिष्ठ हास्य कलाकार राजाराम पौडेल, लक्ष्मी गिरी, अभिनेत्री एवं निर्मात्री रोशनी केसी तथा अभिनेत्री वर्षा राउत रहेका छन् । त्यस्तै, युवा व्यवसायी तथा समाजसेवी अर्जुन रानाभाट, साहसिक साइकल यात्री रुक्मिणी सापकोटा र समाजसेवी तथा राजनीतिज्ञ कमलप्रसाद पराजुली सम्मानित भएका छन् ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले मोफसलमा गरिने यस्ता कार्यक्रमले कलाकारलाई उर्जा मिल्नुका साथै कलाकारिता क्षेत्रको प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । कलाकारिता क्षेत्रको विकास र प्रवर्द्धनमा लक्की मिडिया हाउसले गरेको सम्मान तथा विशेष शो को उहांँले प्रशंसा गर्नुभयो ।
सम्मानपछि हाउसले सम्मानित व्यक्तित्वहरलाई चितवनका विभिन्न धार्मिक तथा रमणीय स्थलहरुको भ्रमण गराएको थियो ।
सम्मानित जनताकर्मी श्रेष्ठ जनता टेलिभिजनकाे मनाेरञ्जनात्मक कार्यक्रम 'जुम इन' र 'फ्राइडे फिल्मस्' का निर्माता तथा प्रस्तुतकर्ता हुनुहुन्छ ।