शिब बोहोरा बागलुङ । गल्कोट नगरपालिका–१ दुदिलाभाटीका एक दम्पतीले गाउँमै करोडभन्दा बढी रकम लगानी गरी बाख्रापालन गरेका छन् । २०७४ साल देखि ५/६ वटा बाख्राबाट सुरु गरेको बाख्रापालन व्यवसायबाट दुदिलाभाटीका गमबहादुर कुँवर र निरु कुँवरको दम्पत्तिले मनग्य आम्दानी गर्न थालेको हो ।
बाबु बाजेको पालादेखि चलिआएको निर्वाहमुखी बाख्रापालनलाई आफुहरुले व्यवसायिक बनाएको कुँवर दम्पत्तिले बताएका छन् । कृषि शिक्षा पढेपनि आर्थिक अवस्था कमजोर भएका कारण ५ बर्ष कोरीया बसेका गमबहादुर विदेशमा सिकेको सीप स्वदेशमै प्रयोग गर्ने उद्देश्यका साथ फर्किएको बताउँछन् ।
‘विदेशमा स्रोत साधनको अभावका बावजुद पनि करोडौँ कमाउनेहरु प्रशस्त छन्, नेपालमा पनि भएका स्रोत साधनको प्रयोग गरेर व्यवसाय गर्न सकिन्छ’ कुँवरले भने । गमबहादुर भन्छन्, गाउँमा घर धेरै नहुने र जग्गा जमिन धेरै भएपछि पशुपालन गर्न सहज हुने देखिएको छ ।
यतिबेला कुँवरको फर्ममा १ सय भन्दा बढी बाख्राहरु रहेका छन् । चितवनबाट २ लाख ५० हजारमा किनेर ल्याएका दुई बोयर जातका बोकासमेत ल्याएका कुँवरले लोकल बाख्रा र बोयर बोकाबाट उन्नत जातको बाख्रा उत्पादन गर्ने गरेका छन् । उत्पादित बाख्रा एवं मासुको बजारिकरणका खासै समस्या नभएको कुँवरले बताए ।
बाख्रापालनमार्फत ६ जनालाई रोजगारीसमेत दिएका कुवँरले घाँस काट्ने एवं बाख्राको स्याहारसुसार गर्ने कामदारलाई २० हजार भन्दा बढी मासिक तलब दिादै आएका छन् ।
गाउँमा यतिबेला गमबहादुरको दम्पत्ति मनग्य आम्दानीका लागि नेपालमा पनि धेरैथोक गर्न सकिने रहेछ भनेर व्यवहारमा साबित गर्ने एक उदारहण नै बनेको छ । कुँवर दम्पत्तिलाई गल्कोट नगरपालिका–१ दुदिलाभाटीको वडा कार्यालयले पनि आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले बताए ।