छवि चापागाँई पाँचथर । किराँत धर्मावलम्बीहरुको बाहुल्यता रहेको पूर्वी जिल्लाहरुमा उधौली पर्वको रौनक शुरु भएको छ । मंसिरे पूर्णिमाको दिनदेखि शुरु हुने उधौली पर्व किराँती समुदायमा घरघरमा दिपावली तथा सामूहिक पूजापाठ गरेर मनाउने चलन छ ।
उधौली पर्व किराँत जाति अन्तर्गतका लिम्बू समुदायमा ‘चासोक तङनाम’, राईहरुले ‘साकेलार साकेन्वा’ सुनुवारहरुले ‘साँदर’ र याख्खाहरुले ‘फोलूयाँदर’ पर्वको रुपमा मनाउने गर्दछन् । चासोक पर्वको अवसरमा पाँचथरको सदरमुकाम फिदिममा १५ दिने चासोक मेला शुरु भएको छ । मंसिर २५ गते देखि शुरु भएको मेला पौष ४ गते सम्म फिदिमको ऐतिहासिक स्थल गढी मन्दिर परिसरमा रहने छ ।
उधौली पर्वको अवसरमा पाकेको नयाँ अन्नबाली आफूले खानुअघि प्रकृति र देवीदेवतालाई चढाएर मात्र मानिसले खाने गरिन्छ । यसो गरेमा कुनै दुख नहुने, अन्नको सह रहने जनविश्वास छ । यसलाई नै लिम्बू समुदायमा चासोक तङनाम भनिन्छ ।
उधौली पर्व आदिवासीहरुको बाहुल्यता रहेको पूर्वका पाँचथरसहित, ताप्लेजुङ, इलाम, तेह्रथुम, झापा, मोरङ, सुनसरी, धनुकटा, संखुवासभामासमेत विशेष महत्वका साथ मनाइन्छ । मानिस, जनावर तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर झर्ने समय मंसिरे पूर्णिमादेखि उधौली पर्व मनाउने गरिन्छ भने अन्नबाली लगाउने बेला मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिर जाने समय वैशाख पूर्णिमादेखि आदिवासी समुदायमा उभौली पर्व मनाउने प्रचलन छ ।