खेम बमकाठमाडौं । कञ्चनपुरको दक्षिणपूर्व, नेपाल–भारत सीमावर्ती क्षेत्रको एक बस्ती आनन्दबजार । तर त्यसलाई आनन्द होइन अशान्त बजारको उपमा दिँदा फरक पर्दैन होला । विसं २०३० को दशकमा बस्ती विकास भएको यो क्षेत्र अशान्त मात्र छैन, अनगन्ती कष्ट र अपमान झेल्दै आइरहेको छ ।
दुवै देशबीच सीमा विवाद र भारतको सीमा सुरक्षा बल (एसएसबी)ले दैनिक दिने सास्तीका कारण त्यहाँका बासिन्दा सधैं तनावमा बेहोरिरहेका हुन्छन् । फागुन २६ गते मात्रै सीमा विवादको बिषयले एक नेपालीको भारत्ीय एसएसबीको गोली लागि मृत्यु भयो । आनन्दबजार लगायत सो क्षेत्रका स्थानीय बासिन्दाले आफ्नै सीमाभित्र कल्भर्ट निर्माण गर्दा भारतीय पक्षबाट विरोध भएपछि विवाद बल्झिएको थियो ।
नेपाली भूमिमै पसेर एसएसबीका एक जवानले गोली हान्दा स्थानीय बर्ष ३२, का गोविन्द गौतमले शहादत प्राप्त गरे । पटक–पटक सीमा विवादका बिषयमा भएका झडपको त्यो १८ औं पटक थियो । विभिन्न वाहानामा नेपाली नागरिकलाई दुख दिनुको अरु कुनै कसुर हुँदैन एसएसबीसँग ।
नेपाली नागरिकको मृत्यु भयो, केही दिन त्यँहाको वातावरण अशान्त भयो । तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले घटनाको सम्बोधन गर्नुको साटो केही दिनसम्म त कसको पक्षबाट गोली लाग्यो खुलाउनै मानेनन् । प्रतिपक्षी दलको दबाबपछि मात्रै भारतीय सुरक्षा बलको गोली लागेको गृहले खुलायो । निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहलाई सो घटनाको बिषयमा सुनाए, सिंहले अपसोचपूर्ण घटना भन्दै त्यसप्रति दुःख व्यक्त गरे तर त्यसभन्दा बाहेक ठोस जवाफ केही पनि दिएनन् ।
सीमामा बस्ने नेपालीलाई भारतीय सुरक्षा बलले सरसामान किन्न र आवातजावत गर्नेलाई समेत दैनिक कष्ट दिइरहेको छ तर हाम्रो देश नेपालले त्यो नागरिकको पीडालाई बुझ्दैन उल्टै भारतलाई श्रीमानको संज्ञा दिएर ढोग्न पुग्छ । एक स्वतन्त्र देशका हामी स्वतन्त्र नागरिक यहि हो हाम्रो स्वतन्त्रता ?
मंगलबारमात्रै कञ्चनपुरको बेलौरीमा नेपाली भूमिमा बनेको सडक विस्तारमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको छ । बेलौरी नगरपालिकाले वडा नम्बर १० सरघाट क्षेत्रमा सडक विस्तार थालेको थियो । तर, ३३ नम्बरदेखि ३६ नम्बर पिल्लर क्षेत्रमा सडक विस्तारमा भारतीय पक्षले अवरोध गरेको मेयर पोतिलाल चौधरीले जानकारी दिए ।
६५ वर्षीय कृष्णप्रसाद शर्माले लालपुर्जा देखाउँदै आफ्नो जग्गामा बाटो निर्माण गर्दा एसएसबीले रोकेको समेत बताइरहेका छन् । नेपाली भूमिमा सडक निर्माण गर्दा भारतीय पक्षबाट अवरोध हुनु सरासर दादागिरी भएको स्थानीय पल्लव भट्टले बताए । एसएसबीले भोराकोट क्षेत्रमा पनि करिव १०० मिटर सडक विस्तारमा अवरोध गरेको छ । मेयर चौधरीले भने, ‘सीमा पिल्लर भन्दा १०० मिटर परै सडक विस्तार गर्न खोजिएको हो । तर, भारतीय पक्षले अवरोध गर्दा काम हुन सकेको छैन ।’ नगरपालिकाले सीमा सर्वे टोलीदेखि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइसकेको छ । भारतीय सीमा सुरक्षा बलका कमाण्डेट (इन्स्पेक्टर) एसके सिंहले विवाद सामान्य भएको बताउदैं आएतापनि सीमामा गर्ने दादागिरी सामान्य होईन ।
प्रत्येक पटक सीमामा बस्ने नेपालीले आफ्नो भुमीमा केही कार्य गर्न खोज्दा भारतले हस्तक्षेप गर्दै आएको छ । सीमामा भएका पिल्लर गायब गर्ने देखि सीमामा बस्ने सोझा जनतालाई बिना कसुर विभिन्न आरोप लगाउनेसम्ममा गतिबिधि भारतीय सीमा सुरक्षा बलले गर्दै आएको स्थानीय बताउछन् । कहिलेसम्म सीमा विवादका कारण एक सोझो नेपालीले ज्यान हत्केलामा राख्ने ? नेपाल बाहेकका अरु देश हुन्थे भने के भारतले यस्तै रजाइ गर्न सक्थ्यो त ? यो गम्भिर बिषय बनेको छ ।
नेपालतर्फको सीमावरिपरि भारतले एसएसबी तैनाथ गरेको छ, पश्चिममा दार्चुलादेखि पूर्वको ताप्लेजुङसम्म । इन्डो टिबेटन बोर्डर पुलिसले सुरक्षा दिइरहेको लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा समेत पछिल्ला पाँच वर्षदेखि एसएसबीको तैनाथी थपिएको छ । भारतले नेपालको सीमा क्षेत्रमा चरणबद्ध रूपमा एसएसबी तैनाथ गर्न थालेको भदौ ०५८ देखि हो । संयोग कस्तो भने नेपाल आन्तरिक रूपमा सशस्त्र द्वन्द्वको उत्कर्ष्तिर पुग्दै गर्दा छिमेकी मुलुक भारतको अर्धसैनिक फौजले सीमामा आफ्नो उपस्थिति पनि बढायो । ०६० मा आइपुग्दा भने सीमामा खडा गरिएको एसएसबी संख्या बढाइएको छ । ०६० सम्म ३१ हजारको संख्यामा रहेको एसएसबीको संख्या अहिले ९१ हजार पुगिसकेको छ ।
जब कि, एसएसबीका ४ सय ७० भन्दा बढी बोर्डर पोस्ट छन्, नेपालको सीमा क्षेत्रमा । सीमामा एसएसबीको तैनाथी प्रत्येक साढे चार किलोमिटर दूरीमा छ भने नेपाली सुरक्षा फौजको उपस्थिति २४ किलोमिटरभन्दा बढीको फरकमा । नेपालको भूमिमा एक किलोमिटरमा पाँच जना सशस्त्र प्रहरीले पहरा दिन्छन् भने सोही दूरीमा एसएसबीको ३० भन्दा बढी जनशक्ति खटिने गरेको छ ।