भगीरथ भण्डारी इलाम । इलामको किवी बेच्न धरानमा किवी एक्स्पो सञ्चालन गरिएको छ । जिल्लामा किवी उत्पादन भएको १० वर्ष बितिसके पनि यससँग सम्बन्धित उद्योगको विकास हुन नसकेको भन्दै यसको प्रवर्द्धनका लागि एक्स्पो सञ्चालन गरिएको हो ।
सुनसरीको धरानमा बिहीबारबाट ‘इलाम किवी फल एक्स्पो २०७६’ सञ्चालन शुरु भएको छ । इलाम उद्योग वाणिज्य संघ, इलाम नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आयोजनामा किवी एक्स्पो गरेको हो । सहआयोजकको रुपमा रहेको धरान उपमहानगरपालिकाले स्थानीय व्यवस्थापन गर्ने छ । इलाममा उत्पादन भएको किवीको बजार खोज्न धरानमा किवी एक्स्पो हुने भएको इलाम उद्योग वाणिज्य संघ इलामका अध्यक्ष इश्वर चिपालुले जानकारी दिनुभयो । जसका लागि १० वटा स्टलमार्फत इलामको उत्पादन बिक्री वितरण भइरहेको छ । सातवटा स्टलबाट किवी र अन्य तीनवटा स्टलबाट इलाममा उत्पादित चिया, ललिपप, घिउ लगायतका परिकार बिक्री वितरण भइरहेको छ । किवी फलको बजार प्रवर्द्धनका लागि धरानमा यसले बजारीकरणमा सहयोग मिल्ने बताइएको छ । नेपालमा अन्य फलको तुलनामा महंगो मुल्यमा बिक्री हुने किवीबाट जुस, जाम, अचार लगायतका परिकार बनाउन सकिन्छ । जिल्लामा यसको व्यावसायिक उत्पादन शुरू भएको १० वर्ष भयो । तर पनि यससँग सम्बन्धित उद्योग सञ्चालन हुन नसकेपछि बाहिरी जिल्लामा बजारीकरण तथा यसको प्रवर्द्धन गर्ने उदेश्यले एक्स्पो गर्न लागिएको किवी जोन परियोजना इलामका अध्यक्ष देउकुमार राईले बताउनुभयो । यसले इलाममा उत्पादन भएको किवी प्रवर्द्धन हुने अपेक्षा लिएको पनि उहाँले बताउनुभयो।
१० वटा स्टल रहने गरी गर्न लागिएको एक्स्पोबाट जिल्लामा उत्पादित किवी बिक्री वितरणका साथै यसका फाइदाका बारेमा समेत जानकारी गराइने छ । धेरै फलफूलबाट पाउन सकिने भिटामिन एउटै किवीबाट पाइने भएकाले पनि यो फल सेवन फलदायी रहने बताइएको छ । एक्स्पो पछाडि यसको महत्व बुझेर भएपनि आगामी वर्षबाट कृषकका घरघरमा नै आएर किवी खरिद गर्ने वातावरण मिल्ने वाणिज्य संघको अपेक्षा छ ।
यता किवी किसानहरुले समेत यसलाई उत्सवकै रुपमा लिएका छन् । उनीहरुले उत्साहका साथ किवी बिक्री वितरण गरिरहेका छन् । यसले आगामी वर्षबाट धरानबाट इलाममा नै किवी खोज्दै जाने वातावरण बन्ने किसान ठाकुर खतिवडा बताउनुहुन्छ ।
किवी एक्स्पोमा जिल्लामा उत्पादित ग्रिन टि, घिउ, ललिपप, अकबरे, खुर्सानी, बम्बैसन् लगायतका वस्तुहरु समेत राखिने छ । जिल्लामा किवी उत्पादन शुरु भएको लामो समय भइसकेको छ । यसका लागि संघीय सरकारले सन्दकपुर गाउँपालिकामा मुख्य कार्यालय रहने गरी किवी जोन परियोजना समेत सञ्चालन गरिरहेको छ । विगत दुई वर्ष अगाडि इलाम उद्योग वाणिज्य संघले किवी खेती प्रवर्द्धन र उत्पादन गर्न गाउँगाउँका किसानहरुलाई सहयोग गरेको थियो ।
हाल बजारीकरणमा समेत सहयोग गर्न किवी एक्स्पो गर्न लागेको हो । एक्स्पोबाट करिव १० क्विन्टल किवी बिक्री हुने अनुमान गरिएको छ । यसका लागि धरानको छाता चोकमा स्टल निर्माण भइसकेको छ ।