भगीरथ भण्डारी इलाम । इलामको सुन्दरताकै कारण पछिल्लो समय फिल्म सुटिङको आँखामा पर्न थालेको छ । इलाममा एकपछि अर्को चलचित्रको सुटिङ भइनै रहेका हुन्छन् ।
अभिनेता दयाहाङ राई गतवर्ष इलामको पर्यटकीयस्थल सन्दकपुर भ्रमणमा आएर १० दिन बसे । ‘आप्पा’ फिल्मको सुटिङका लागि आएका दयाहाङसहितको टोलीले सन्दकपुरको मनोरम दृश्य फिल्ममा उतार्यो । ‘आप्पा’ फिल्मका लागि मात्र होइन, ‘हाइवे’ फिल्मको सुटिङकालागि इलाममा उनले १५ दिन र ‘मेरो एउटा साथी छ’ फिल्मको दौरान ११ दिन बसे ।
योगेश घिमिरेको निर्देशनमा रहेको नोटवुकको ‘गाला रातै’ फिल्मको दृष्य पनि इलामकै थियो । ‘नोटवुक’ फिल्मको गाला रातैमा जीवन लुइटेल र नीता ढुङ्गानाले अन्तुको चियाबारीमा लुकामारी खेलेको दृष्यलाई धेरैले रुचाए । यो गीतमा प्रस्तुत लेप्चा जातिको पहिरनले पनि राम्रै चर्चा बटुल्याे ।
घिमिरेकै निर्देशनमा बनेको ‘प्रेम दिवश’मा इलामको सन्दकपुर, ढापपोखरी, अन्तु, कन्यामलगायतका क्षेत्र समेटिएको छ । अघिल्लो वर्ष मात्र रिलिज भएको ‘क्याप्टेन’मा पनि इलामको सुन्दरतासँगै फुटवल क्रेज समेटेर सुटिङ भएको थियो । पछिल्लो समय ‘म यस्तो गीत गाउँछु २’ को गीत यूट्यूवमार्फत सार्वजनिक भएको छ । इलामका विभिन्न पर्यटकीय स्थलसहित पाँचथरको साधुटार, चाररातेलगायत क्षेत्रलाई समेटिएर सुटिङ गरिएको ‘तिम्रो घरको वरिपरी’ बोलको गीत यूट्यूवमार्फत सार्वजनिक भएको हो । यस गीतमा पल शाह र पूजा शर्माको अभिनय छ । यसले गीतको आनन्दसँगै इलामको सौन्दर्य बुझ्न सघाउ पुर्याएको छ ।जताततै चियाका बुटाहरु देखिने भएकाले इलामको यात्रामा निस्किने जुनसुकै यात्रीको मन हरियो चियाको बोटले लोभ्याउँछ । कन्याम आइपुगेपछि सवारीसाधन भित्रैबाट दाँयाबाँया तलमाथि जताततै चिया नै चिया देखिँदा जो कोहीको मन फुरुङ्ग हुन्छ । नाङ्गो पाखामा अहिले हरियाली फाँट र बस्तीमात्रै देखिने इलामका आर्कषक चिया प्रशोधन कारखानामा चिया पेलिदै गरेको आवाज र पिउँपिउँ लाग्ने चियाको मगमग बासनाले हरेकको मन लोभ्याउने गरेको छ ।
इलामका रमणीय क्षेत्रमा पछिल्लो समय फिल्म र म्यूजिक भिडियो सुटिङ गर्ने क्रम मौलाएको छ । इलाम घुम्न आएका धेरैले चलचित्र र गीतमा देखिएको इलामकाे सुन्दरताका कारण नै गन्तव्यमा परेको प्रतिकृया दिने गरेका छन् । इलामको सौन्दर्यलाई इतिहासविद् युद्धप्रसाद वैद्य भन्छन ‘इलाम नकुदिएको हिरा हो यसलाई कुद्ने शिल्पीको खाचो छ ।’
विशेषगरी इलाम सदरमुकाम, कन्याम, करफोक, पशुपतिनगर, सन्दकपुर, माइपोखरी त्यसैगरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा उदाएका अन्तुडाँडा, भालुढुंगा, ढापपोखरीलगायतले पनि फिल्मकर्मीको ध्यान खिच्दै गएकाे देखिन्छ ।