माेरङ । सम्मेलनमा भारतीय पक्षलाई हाबी गराएको भन्दै १७ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा विवाद भएको छ । सम्मेलनमा भारतीय पक्षलाई मात्र स्थान दिएको र संयोजक प्रविण नारायण चौधरीले एकलौटी गरेको भन्दै नेपाली पक्षका मैथिली भाषिहरुले सम्मेलन बहिष्कार गरेका छन् ।
त्यस्तै सम्मेलनका लागि बनेको कमिटीलाई बाइपास गरिएको भन्दै कमिटीका सदस्यहरुसमेत असन्तुष्ट बनेका छन् । यससँगै विराटनगरस्थित राम जानकी सेवा सदनमा आयोजना गरिएको मैथिली बहस सत्र विवादका कारण प्रभावित बनेको छ ।
आइतबारदेखि शुरु भएको १७ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलनले मुलुकको पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको छ । प्रदेश १ को अस्थायी मुकाम मोरङको विराटनगर हाट खोलामा सम्मेलन आयोजना गरिएको हो ।
दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन आइतबार शोभा यात्रा, नगर परिक्रमा, झाँकीसहितको साँस्कृतिक कार्यक्रम र मैथिली भाषाप्रति ऐक्यबद्वता जनाइएको थियो ।
सोमबार अर्थात दोस्रो दिन आज मैथिली भाषालगायत अन्य विभिन्न विधामा बहस गरिने तयारी थियो । सम्मेलनले भाषा, संस्कृति, भेषभूषा, खाद्य परिकार, मैथिली सिनेमा र पर्यटन क्षेत्रको प्रवर्द्धनमा मुख्य भुमिका खेल्ने बताइए पनि विवादका कारण सम्मेलन अनिश्चित बनेको छ ।
सम्मेलनमा नेपाल तथा भारतलगायत अन्य विभिन्न मुलुकका ३ सय बढी प्रतिनिधि सहभागी छन् ।