विनु तिम्सिना मोरङ । विराटनगर महानगरपालिका–२ शंकरपुरस्थित जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत सुस्त श्रवणशक्ति भएका बालबालिकाका लागि राज्यले प्रदान गर्ने अपांग भत्ता वितरणमा अनियमितता भएको पाइएको छ । विद्यालयले विद्यार्थीका भत्ता वापतको रकम वनभोज र कोचिङका नाममा खर्च गरेको पाइएको हो ।
जनता माविमा ३९ जना सुस्त श्रवणशक्ति भएका बालबालिका अध्ययनरत छन् । यसमध्ये विराटनगर बाहिरका २८ जना बालबालिका विद्यालयकै होष्टलमा बस्छन् । महानगरपालिका भित्र नै बसोबास गर्ने ११ जना विद्यार्थी घरबाट नै धाएर विद्यालय आउने गर्छन् ।
विद्यालयको आवासमा बसोबास गर्ने सुस्त श्रवणशक्ति भएका बालबालिकाका लागि मासिक ४ हजार र घरबाट नै विद्यालय आउनेहरुका लागि वार्षिक पाँच हजार भत्ता महानगरपालिकाले विद्यालयलाई उपलब्ध गराउने गर्छ । महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को भत्ता वापतको रकम मंसीरमा मात्रै निकासा गरेको थियो । तर मसिंरमा वितरण गरिएको गत आवको भत्ताको रकमले भने विद्यालयले वनभोजको आयोजना गरेको छ । पाँच हजार भत्ता लिएको भरपाइमा हस्ताक्षर गराएर विद्यालयले विद्यार्थीका अभिभावकलाई भने तीन हजार रुपैयाँ मात्रै वितरण गरेको अभिभावहरुको गुनासो छ ।
विराटनगर महानगरपालिका पोखरियाका रविलाल कामतका छोरा शुसान्त कामत कक्षा १० मा अध्ययनरत छन् । उनले भत्ता वापत पाँच हजार पाउनु पर्नेमा तिन हजार मात्रै पाएको गुनासो गरे । विद्यालयले आफूहरुलाई हस्ताक्षर भने पाँच हजारकै भरपाइमा गराएको उनको भनाइ छ । कोचिङ पढाउने भनेर भत्ता वापतको रकम कटौती गरेको भएपनि नपढाएको अभिभावक कामतले जनाए ।
शुक्रबार विद्यार्थीलाई अभिभावकसहित झापाको जामुनखाडी वनभोज लगिएको थियो । तर वनभोजसमेत स्तरिय नभएको कक्षा चारमा अध्ययनरत शुस्तश्रवण शक्ति भएका पवन मण्डलले दोभाषे मार्फत गुनासो गरे ।
यता विद्यालयका प्रधानाध्यापक विजय रौनियारले भने आफूहरुले अभिभावक भेला गरेर नै प्रत्येक विद्यार्थीका अभिभावकलाई वार्षिक पाँच हजारका दरले भत्ता वितरण गरेको दाबी गरेका छन् । विद्यालयले कुनै पनि नाममा भत्ताको रकम कटौती नगरेको उनले जनाए ।
त्यसैगरी सुस्त श्रवणशक्ति भएका विद्यार्थीहरुको श्रोत शिक्षकहरुले भने विद्यार्थीकै अनुरोधमा भत्ता वापतको रकमबाट वनभोज लगिएको बताएका छन् ।