मनाङ । हिमालपारीको जिल्ला मनाङमा चाँडै हिमपात शुरु भएपछि समस्यामा परेका सर्वसाधारणले बल्ल राहत पाएका छन् । हिउँले बाटो बन्द भएर अलपत्र परेका स्थानीय बासिन्दा र पर्यटकलाई सहयोग गर्न मनाङबाट निर्वाचित प्रतिनिधिसभा सांसद पोल्देन छपाङ गुरुङ आफै सक्रिय हुनुभयो ।
शुरुमा सांसद पोल्देन छपाङ गुरुङले सडक डिभिजन कार्यालय दमौलीलाई हिउँ सफा गर्न सहयोगको लागि अनुरोध गर्नुभयो । हिउँ पन्छाउन डिभिजन सडक कार्यालय दमौलीसँग डोजर तथा एक्स्काभेटर मागे पनि नपठाएपछि अन्ततः सांसद पोल्देन छोपाङ गुरुङको पहलमा एउटा डोजर र एउटा एक्स्काभेटर प्रयोग गरी सडकका हिउ फाल्ने काम भएकोे हो ।
स्थानीय छिरिङ गुरुङ भन्छन्, सांसदले आफ्नै लगानीमा डोजर लिएर सफा गरे । सांसदले यो काम नगरेको भए २ फिट हिउँ छलेर सहज रुपमा मान्छेहरु निस्किन कठिन भइरहेकाे थियो ।
मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार ‘सडकमै हिउँ जमेर २ फिट भएको र सर्वसाधरणको दैनिकी सहज बनाउन सांसदले डोजर र एक्स्काभेटर प्रयोग गरेर हिउ फाल्न सजिलो भएको बताए ।
अचानक हिउँ परेपछि स्थानीय बासिन्दाले बेसी झर्ने मौका नै पाएनन् । सधैँ पुसदेखि हिमपात हुने क्षेत्रमा यस वर्ष मंसिर अन्तिम सातामा नै हिमपात शुरु भयो । करिब २ फिट हिउँ पर्यो । हिमपात भएपछि दुइ साता यता तिमाङदेखि माथिल्लो मनाङसम्म गाडी चलेका थिएन । तर पौष ६ गतेबाट सडक खुलेको छ ।
बाटो सफा भएपछि बालबालिका वृद्धबृद्धा र केही पर्यटकका लागि सहज भएको छ । पर्यटक यो मौसममा पनि घुम्न आउने भएपछि होटल सञ्चालक बाह्रै महिना मनाङमा रहन्छन् । हिउँ खेल्न पर्यटक आइरहेको होटल व्यबसायीको भनाइ छ ।
मनाङमा हरेक वर्ष हिउँ पर्छ । हिउका फाइदा र बेपाइदा दुवै छ । समयमा नै हिउँ पर्दा वनस्पती, जडीबुटी र कृषि बालिकाे लािग राम्रो हुन्छ । सांसद पोल्देन छोपाङ गुरुङले मनाङमा हिउमा आधारित पर्यटन विकास गर्न सडक सफा गर्ने डोजर र मेसिन ल्याएर बाटोको हिउँ सफा गर्ने र हिउँ खेल्ने पर्यटनको वृद्धी गर्ने योजना रहेको बताएका छन् ।
पर्यटकीय शहर पोखराबाट ६ घण्टामा पुगिने भएकाले पनि हिउँ खेल्ने आन्तरिक र बाह्य पर्यटक वृद्धी हुने गुरूङकाे भनाइ छ ।
मनाङबाट छिरिङ गुरूङकाे सहयाेगमा