विनु तिम्सिना मोरङ । दुर्घटना न्युनिकरण गर्न ‘सुरक्षित यात्राका लागि सडक सुशासन सम्बन्धि कार्यदल’ गठन गरिएको छ । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मंगलबार आयोजित सुरक्षित यात्राका लागि सडक सुशासन सम्बन्धि अन्तरक्रिया कार्यक्रमकाबीच कार्यदल गठन गरिएको हो ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले १७ सदस्यीय कार्यदलको घोषणा गर्नुभयो । कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाको संयोजकत्वमा गठित कार्यदलमा भौतिक पुर्वाधार मन्त्रालयका प्रतिनिधि, यातायात व्यवस्था कार्यालय इटहरीका प्रतिनिधि, प्रदेश ट्राफिक कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालय मोरङ, यान्त्रिक कार्यालय इटहरीका प्रतिनिधि र संघीय सडक डिभिजन कार्यालय मोरङका प्रतिनिधिलाई सदस्यको रुपमा राखिएको छ ।
यस्तै प्रदेश उद्योग वाणिज्य महासंघ, यातायात व्यवसायी महासंघ प्रदेश १, स्थानीय सरकार मध्येबाट विराटनगर महानगरपालिकाका प्रतिनिधि, यातायात मजदुर संघसंस्थाका प्रतिनिधि–२ जना, उपभोक्ता हकहित संरक्षण मंच, प्रदेश पत्रकार महासंघ, हिसान, प्याब्सन तथा एन प्याब्सनका प्रतिनिधिलाई कार्यदलमा राखिएको छ ।
कार्यदलमा मन्त्रालयका शाखा अधिकृत राजन रेग्मीलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ । गठन गरिएको कार्यदलले सडक दुर्घटना सम्बन्धि नितिगत र कार्यगत समस्याहरु पहिचान गर्ने, सडक दुर्घटना न्युनिकरणका लागि अवलम्बन गरिनुपर्ने उपायहरुका विषयमा सुझाव दिने कार्यविवरण दिइएको छ । कार्यदलले १० दिनभित्र सरोकारवाला निकायहरुको भूमिकासहित सुझाव कार्यान्वयन कार्ययोजना मन्त्रालयमा पेश गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले बताउनुभयो ।