पर्वत । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रतिस्पर्धि र स्वरोजगारमुखि शिक्षाको खाँचो रहेको बताउनुभएको छ । कुश्मा नगरपालिका -१२ स्थित ठुलीपोखरीमा रहेको जनता सुदर्शन माविको नवनिर्मित चार कोठे भवनको बुधबार उद्घाटन गर्दैै मन्त्री लम्सालले यस्तो बताउनुभएको हो ।
नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने खालको भएको भन्ने आरोप लाग्न थालेको भन्दै मन्त्री लम्सालले अब गाउँ गाउँमा रहेका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो ।
राष्ट्रिय पुर्न्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई पर्वतको झण्डै ७० लाख रुपैयाँ अनुदानमा निर्माण भएको भवनको उद्घाटनका क्रममा मन्त्रि लम्सालले गण्डकी प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा एक एक वटा आदर्श विद्यालय निर्माण गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभयो । मन्त्री लम्सालले भन्नुभयो, ‘गाउँमै सर्वसुलभ र गुणस्तरीय शिक्षाको विस्तार नहुने हो भने नेपालका अधिकांश ग्रामीण भेगहरु रित्तिने हुनाले गुणस्तरीय शिक्षा र स्वास्थ्यको पहुँच तल्लो तहसम्म पुर्याउन जरुरी छ ।’
अहिलेको सरकार बनेको दुई वर्ष पुरा भएको र बाँकी तीन वर्षमा नागरिकका अधिकांस चाहनाहरु पुरा हुने विश्वास व्यक्त गर्नुभएको छ । सडक, खानेपानी, सिंचाइँजस्ता पूर्वाधारको विकास धमाधम गर्दै अब स्वरोजगारमुलक क्षेत्रमा युवाहरुलाई आकर्षण गर्नुपर्ने उहाँको भनाइ छ ।
युवा पुस्ता आय आर्जनमुलक काममा जोडिनुपर्नेमा जोड दिँदै लम्सालले भइरहेका विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन र समयमै सम्पन्न गर्न स्थानीय जनप्रतिनिधि र नागरिकले पनि खबरदारी जारी राख्नुपर्नेमा लम्सालको जोड छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेल, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, पुननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई शिक्षा कार्यालय प्रमुख युक्तप्रसाद शर्मा लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।