पाल्पा । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै रामपुरमा १३ करोडको लगानीमा होटल निर्माण भएको छ । भ्रमण वर्षको पहिलो दिन जनवरी १ तारिखमा उद्घाटन हुने गरी होटल नमस्ते पाल्पाका निर्माण भएको हो ।
रामपुर नगरपालिका–५ स्थित बेझाड खेतमा निर्माण भएको होटेल नमस्ते पाल्पाको जनवरी १ तारिख अर्थात् पुष १६ गते भव्य रुपमा होटलको उद्घाटन गरी नियमित सञ्चालनमा ल्याउने तयारी गरेको सञ्चालक कमल पाण्डेले जानकारी दिनुभयो ।
स्थानीय युवा कमल पाण्डे र शिव पाण्डे (दाजुभाइ)ले झण्डै ३ करोड ५० लाखको लागतमा होटेल सञ्चालनमा ल्याउन लागेको बताएका छन् । ‘होटल शुभारम्भका अवसरमा पुष १६ देखि १८ गते राष्ट्रिय कलाकार र स्थानीय मौलिक संस्कृती सहितको प्रस्तुती रहनेछ । साँझ ५ बजेदेखि राति १० बजेसम्म दोहोरी साँझ रहनेछ, अहिले हामी होटल उद्घाटनको तयारीमा जुटेका छौँ’ सञ्चालक पाण्डेयले बताउनुभयो।
आफ्नै तीन रोपनी क्षेत्रफल रहेको जग्गामा ११ वटा एट्याज रुम, ४ वटा एसी रुम, सभाहल, रेष्टुरेण्ट हल सहितको ४ तलाको होटल तथा रेष्टुरेन्ट छ । ८ सय क्षमताको हलसहित, टप रेष्टुरेण्ट, स्वीमिङ पुल, पार्किङको राम्रो सुबिधा रहेको होटेल विशेष गरी पाल्पाको पर्यटन विकास शहर उन्मुख रामपुरको आवश्यकतालाई मध्यनजर गर्दै सञ्चालनमा ल्याउन लागेको अर्का सञ्चालक शिव पाण्डेले बताउनुभयो ।
खास पाल्पाको समृद्धि कृषि र पर्यटन भएको बताउदै पाण्डेले चार जिल्लाको संगम रामपुरको शहरीकरण, काली गण्डकी करिडोर, पर्यटनका संभावना तालपोखरा,सिद्द्बाबा भुजात, खैरेनी, काउले कबुलियत बन, प्याराग्लाइडिङ र काली गण्डकीमा जलयातायात, यहाँका प्राबिधिक पढाइको थलो, निर्माणाधीन ५० शैयाको अस्पताल, दैनिक व्यापार र चहलपहलले रामपुर भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल, रेष्टुरेण्ट तथा पार्टी प्यालेस सहितको नमस्ते पाल्पा होटेल निर्माण गरिएको पाण्डे द्वयको भनाइ छ ।
उद्घाटनका अवसरमा राष्ट्रिय कलाकारहरु घनश्याम रिजाल, कृष्ण सुवेदी, पुरुषोत्तम भण्डारी (पुर्खे बा), कमला गैरे, मधु चापागाईं, गंगा पौडेलसहित स्थानीय मौलिक कला र नाच प्रस्तुति रहनेछ । पर्यटन वर्ष २०२० को सुरुवाती सहित उद्घाटन हुने होटलको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले गर्नुहुने जनाइएको छ।