भगीरथ भण्डारी इलाम । होमस्टेको अवधारण कुल्चेर होटल निमार्णमा लागेको छ इलामको अन्तु । होमस्टेबाटै पर्यटकिय गन्तव्यका रुपमा परिचित अन्तु होटलै होटल भएको बजारमा परिणत हुने सम्भावना बढेर गएको छ । अन्तु घुम्न आउने पर्यटक भन्छन ! ‘यस्ता होमस्टे त हाम्रोतिरै जति पनि छन नि ? काठमाडौंबाट इलामको श्रीअन्तुमा घुम्न आएकी बिबिएस चौथो वर्षमा अध्ययनरत २२ बर्षीया रिया निरौलाले आमा रमिता खड्का (निरौला) लाई भनिन् ।
निरौलाकी आमाले भनिन, ‘होमस्टे कस्तो नै हुँदो रहेछ भनेको त होटललाई पो होमस्टे भन्दा रहेछन । यस्ता होमस्टे त हाम्रैमा छँदै छन नि ! तेरा बाउलाई इलामको अन्तु जाउँ होमस्टेमा बसेर झूल्के घाम हेर्न पाइन्छ अरे भनेर एकमहिना अघिदेखि फकाएको होटललाई पो होमस्टे भन्दा रहेछन ! होटललाई होमस्टे लेख्दा भइहाल्ने रहेछ ।’ निरौला आमाछोरी यस्तै गफका साथ श्रीअन्तुमा रहेको अन्तु डाँडाँ होटल अगाडी आगो तापेर गफ गरिरहेका थिए ।
आमाछोरीको गफ चलिरहेको स्थानमा आगो ताप्ने १० जनाको जमात नै थियो । आगो ताप्दै होमस्टेको कुरा चलिरहेको थियो । आगो तापिरहेकै एक अर्का व्याक्तिले भने, ‘होमस्टे त यस्तो हुँदैन यहाँ त फेरी होमस्टे नै लेखेका छन खै के हो ?’ उनको प्रश्नमा अर्का एक १५ बर्षीय युवक थप्दै थिए्, ‘यहाँका होमस्टे यस्तै खालका होलान नि ? उनले यस्तो भन्दा उपस्थित सबै जना गलल्ल हाँसे ।
उनीहरुबीचको कुराकानी र हाँसोले अन्तुका होमस्टेको खिल्लि उडाइरहेको सहजै अनुमान गर्न सकिन्छ । यि त प्रतिनिधि पात्र र कुराकानी मात्रै हुन । पछिल्लो समय दैनिक सयाैंको संख्यामा अन्तु भित्रिने पर्यटकमध्ये अधिकांसको बीचमा यहाँका होमस्टेको विषयमा चर्चा चल्ने गरेको पाइन्छ । अन्तुमा होमस्टे लेखिएका बोर्ड टांगिएका होटलका कारण यहाँ आउने जो कोहिलाई होमस्टे कस्ता हुन्छन ? भनेर दोधारमा पार्ने गरेको छ । होटल बनाउने तर होमस्टे नामाकरण गर्नाले पनि अन्तु पुग्नेहरुले होमस्टको वास्तविक आनन्द लिन पाइरहेको देखिँदैन ।
होमस्टेमा बस्ने र बिहानको झुल्के घाम हेर्न भनेर पर्यटकहरु आउने गरेका भएपनि पछिल्लो समय धमाधम होटल बन्न थालेपछि श्रीअन्तु डाँडाँका होमस्टे मासिने अवस्थामा पुगेका छन् । यहाँ आजभोली बाह्य लगानिमा होटल निमार्ण हुन थालेपछि होमस्टे विस्थापित हुने खतरा बढेको छ ।
अन्तुमा होटेलहरु निर्माण भइरहेको प्रतिहोटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेल भने सकारात्मक छैनन् । भन्छन्, ‘अन्तुमा होमस्टेको अवधारण भन्दा बाहिर गएर होटेल निर्माण गर्न दिनु हुँदैन् ।’
सूर्योदयको दृश्यावलोकनका लागि पर्यटकको घुइँचो लाग्छ अन्तु डाँडामा सूर्योदयको दृश्यावलोकनका लागि पर्यटकको घुइँचो लाग्ने गरेको छ । सबैभन्दा पहिले घामको ज्योति पर्ने र अत्यन्तै मनमोहक दृश्यहरु देखिने भएकाले इलामका विभिन्न ठाउाहरुका साथै नेपालका विभिन्न जिल्ला, भारतको दार्जिलिङ र बङ्गालबाटसमेत पर्यटकहरु आउने गरेका छन् ।
बिहानै खुलेको आकाससँगै यहाँबाट सूर्योदयको दृश्य राम्रो देखिने भएकाले पनि पर्यटक अन्तु आउने गरेका हुन् । सुर्योदय र सुर्यास्थ हेर्नलाई अन्तु पुग्ने अधिकांश पर्यटक होमस्टमा बस्न चाहन्छन् । तर अन्तु पुगेका पर्यटकले होमस्टेको बास हैन होटलमा बस्नु पर्ने बाध्यता छ ।
धमाधम होटल निर्माणअहिले श्रीअन्तुमा धमाधम होटल निमार्ण भइरहेका छन । त्यहाँ पुग्ने जो कोहीले होमस्टे लेखेको बोर्ड मात्र देख्छन् होमस्टे भने पाउँदैनन ।निमार्ण भएका अधिकांस होटलले होमस्टे नामाकरण गरेपनि होमस्टेमा पाउने सेवा सूविधा अन्तुमा मासिन थालेको नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोम सुसेलीको भनाइ छ । ‘कतिपय घुम्न आउने पर्यटक होटलमै बस्न चाहाने पनि हुन्छन्, तर पनि होमस्टेका नाममा परिचित अन्तु भने होमस्टे भन्दा अलग हुन थालेको छ’ सुसेलीले भन्नुभयो ।
स्थानीय कला, संस्कृति, भेषभुषा, खानपान झल्काउनुपर्ने होमस्टेको अवधारणा हो तर श्रीअन्तुमा भने पक्की घरमा चलाइएका होटल र लजलाई होमस्टे भन्न थालिएको छ । अन्तुमा पहिलेदेखि पुरानो बसोबास गर्दै आएकाहरुले आफू बस्दै आएको घरलाई होमस्टे बनाएका छन् ।
अन्तु होमस्टेबाटै चिनिएको र आफूहरुले होमस्टेबाटै चिनाउने कोशिस जारी राखेपनि दर्ता गरेर होटेल व्यवसाय चलाउनेहरुका कारण समस्या देखिन थालेको सामुदायीक होमस्टे सञ्चालक समितिका अध्यक्ष धनकुमार आलेले बताए ।
अन्तुमा विभिन्न स्थानबाट दैनिक पाँच सयदेखि एक हजारभन्दा बढिको हाराहारीमा पर्यटक आउने गर्छन् । सूर्योदयको दृश्य सँगसँगै अन्तु क्षेत्रमा लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, गुफा पाताल, भर्खरै पत्ता लागेको सिंहबाहिनी क्षेत्र, मनमोहक हरियाली र चियाबारीका डाँडाकाँडाको दृश्य पनि आकर्षक देखिने हुनाले पर्यटक बाक्लै आउने गरेका छन् ।
अन्तुमात्रै होइन इलाममा अन्य विभिन्न पर्यटकिय स्थलहरु पनि रहेका छन । जहाँ पर्यटकको चाप दिनानुदिन बढिरहेको छ । इलाममा घुम्नकै लागी भनेर आएका पर्यटकले होमस्टेमै बस्न पाउनु पर्दछ । होमस्टेको प्रचार गरेर धमाधम होटल निर्माण गर्ने र होमस्टेको सुबिधा मासेर होटलको सुबिधा दिनाले पर्यटन क्षेत्रलाई नै असर पार्ने देखिन्छ । पर्यटन वर्षको अध्याधिक चर्चा र बहस चलिरहेका बेला यतातर्फ पनि ध्यान दिने हो की ?