हुमाकान्त पोखरेल गुल्मी । इस्मा गाउँपालिका -२ हस्तिचौरका रामचन्द्र विक आजकाल प्रायजसो बाख्राकै खोरमै भेटिन्छन् । बाख्रालाई अन्न, दानापानी तथा घाँसको व्यवस्था गर्नु उनको दैनिकी नै बनेको छ ।
विकसहित गाउँका १० जनाले ‘शुभलक्ष्मी बाख्रा फर्म’ नामको सामुहिक बाख्रा फर्म खोलेपछि विकलाई आजकाल फर्मबाहिर निस्कने खासै फुर्सद छैन् । खोरमा अहिले २५ वटा माउ, ३६ पाठी र तीन पाठा गरी ६९ बाख्रा छन् । भन्छन्,- ‘गाउँमै व्यवसायिक बन्न बाख्रापालन रोजेका हौं ।
बाग्लुङबाट बयर जातका १७ वटा, इस्मा मैदानबाट ४० तथा अन्य केहि बाख्रा गाउँमै खरिद गरिएको विकले बताए । बाख्रापालनको लागि १३ लाख लागतमा खोर निर्माण तथा ६ लाखमा बाख्रा खरिद गरी हालसम्म १८ लाखभन्दा बढी लागत लागेको उनको भनाइ छ । गत बैशाखबाट सुरु गरेको बाख्रापालनकै लागि १३ रोपनी जग्गा १० बर्षे सम्झौतामा भाडामा लिएको फर्मकी सेयर सदस्य मन्जु विकले बताइन् । ‘२५ मध्ये १८ बाख्रा ब्याउने छन्, परिणाम आइसक्ने बेला भएको छैन ।’ विकले भनिन्, ‘समुहमा मिलेर काम गरेका छौ, राम्रो परिणामआउनेमा विश्वस्त छौ ।’
५ नम्बर प्रदेश सरकारले गत आर्थिक वर्षमा उक्त गाउँमा ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम लागू गरेपछि किसानहरुले बाख्रापालनमै भाविष्य खोज्न थालेका छन् । उक्त कार्यक्रम अन्तर्गत बाख्रापालनका लागि फर्मले आठ लाख ९० हजार अनुदान लिएको छ । अहिले फर्मले एक जनालाई रोजगारी दिएको र बाख्राको सङ्ख्या पनि एक सय पुर्याउने जनाइएको छ ।
गाउँकै २३ बर्षीय अमित कुँवर सानैदेखि बाख्रापालन रुचाउँथे । विगत पाचँ बर्षदेखि कुखुरा र केहि मात्रामा बाख्रा पाल्दै आएका कुँवरलाई ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम लागु भएपछि थप लगानी जुट्यो । गत जेठमा सोहि कार्यक्रमअन्तर्गत खोर निर्माणको लागि कृषि ज्ञान केन्द्रबाट चार लाख २० हजार बुझे । अहिले खोरमा २८ बाख्रा र तीनओटा बोका गरी कुल ३१ बाख्रा छन् । प्रदेश सरकारले लागु गरेको ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रमबाट आफु लाभान्वित भएको उनले सुनाए ।
‘कार्यक्रमले संरचना र लगानीमा सहयोग गरेको छ, जसले गर्दा काम गर्ने हौसला मिलेको छ ।’ उनले भने । अमितले बाख्राका साथसाथै बोइलर र कोइलर जातका कुखुरा पनि पाल्दै आएका छन् । यसबाट उनले बार्षिक १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । उनका दाई ३४ बर्षीय गोपाल कुँवर रोजगारीकै लागि १० बर्ष भारत बसे । तर भाइले व्यवसायिक रुपमा बाख्रा तथा कुखुरा पालन गर्न थालेपछि उनले पनि घरमै बस्ने निधो गरे । ‘भारतमा अर्काको अधिनमा बस्नुपर्छ, तर यहाँ छुट्टै आनन्द छ, अब भाईले आँटेको पेसालाई निरन्तरता दिने हो’ उनले भने ।
शारदा एग्रिकल्चर नामको अमितको फर्ममा १५० बाख्रा अट्ने क्षमता छ । ‘घर खर्च जोहो गर्नकै लागि विदेश जानुपर्दैन ।’ अमित भन्छन्, ‘आफुसँग भएको ज्ञान र सिपलाई राम्रोसँग प्रयोग गर्नुपर्छ ।’ ५ नम्बर प्रदेश सरकारले गत आर्थिक बर्षमा जिल्लाका चार स्थानमा चार बर्षको लागि ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम लागु गर्यो । जस अन्र्तगत इस्मा हस्तिचौरमा ५० परिवारले व्यवसायिक बाख्रापालन सुरु गरे । अहिले गाउँमा एउटा ठुलो, चारवटा मझौैला र साना २० वटा खोर छन् । जसमध्ये ठुलोखोरमा १० जना, मझौला खोरमा पाँच/पाँच जना तथा साना खोरमा एक/एकजना लगानीकर्ता रहेका छन् ।
यसै कार्यक्रम अन्र्तगत दुईवटा माछा पोखरी पनि निर्माण गरी व्यवसाय सुरु गरिएको छ । यसमा प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ । आर्थिक बर्ष २०७५/७६ मा सुरु भएको कार्यक्रम आर्थिक बर्ष ०७८/७९ सम्म सञ्चालन हुनेछ । गत आर्थिक वर्षमा श्रमदान १० लाखसहित ६० लाख र यो आर्थिक बर्षको लागि ३७ लाख ५० हजार विनियोजन भएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक बताउँछन् । गत वर्षको कार्यक्रम कृषि ज्ञान केन्द्र मातहतमा रहेपनि यो आर्थिक बर्षदेखि भने पशुविज्ञ केन्द्र पाल्पा मातहतमा रहने बताइएको छ ।