छवि चापागाँई पाँचथर । मेची अञ्चलकै सबैभन्दा पुरानो आगेजुङ साङ्छयो गुम्बा प्रचार–प्रसारको अभावले संकटमा परेको छ । फालेलुङ गाउँपालिका–१ लसुनेमा अवस्थित गुम्बा वि.सं.२०१५ सालमा लामा दोर्जे लाङठोलले स्थापना गर्नुभएको थियो ।
गुम्बाले २०१८ सालबाट औपचारीक रुपमा लामा उत्पादन गर्नसमेत थालेको थियो । गुम्बाले हालसम्म हजारौं लामा उत्पादन गरेको छ । गुम्बा स्थापना गरेका लाङठोलको निधनपछि २०४९ सालबाट उहाँका छोरा लामा तेन्जिङ शेर्पाले दैनिक पुजापाठ गर्दै आउनुभएको छ ।
भौगोलिक हिसाबमा समेत निकै सुन्दर ठाउँमा अवस्थित गुम्बा याङवरक र हिलिहाङ गाँउपालिकाको संगम स्थलमा छ । करिब ३५ रोपनिमा फैलिएको गुम्बा परिसरसम्म हाल सडक सञ्जालसमेत विस्तार गरिएको छ । व्यक्तिगत लगानिबाट स्थापना गरिएको गुम्बाको संरक्षणको बारेमा सरकारले खासै चासो नदिएको लामा तेन्जिङको गुनासो छ ।
भक्तजन र दाताको सहयोगबाटै सञ्चालित गुम्बाको संरक्षणमा राज्यको कुनै निकायले चासो नदिँदा संकटमा परेको उहाँको भनाइ छ । बौद्ध धर्मावलम्बीहरूको विशेष चाडपर्वका अवसरमा यस गुम्बामा देश विदेशका हजारौँ लामा जम्मा हुने गरेका छन् । द्वन्द्वकालका समयमा बौद्ध शिक्षा बन्द भएपछि पूर्वमा लामाहरूको अभाव हुन थालेको लामा तेन्जिङले बताउनुभयो । द्वन्द्वकालमा विविध समस्याका कारण बन्द गरिएको बौद्ध शिक्षा पुनः शुरु गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
प्रचुर पर्यटकीय सम्भाव्यता बोकेको गुम्बालाई संरक्षण र प्रचार प्रसार गर्न सके ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने नेपाल तामाङ्ग घेदुङ्ग पाँचथरका अध्यक्ष जंग तामाङ्गकोे भनाइ छ ।
मेचि राजमार्ग अन्तर्गत हिलिहाङ गाँउपालिकाको जोरपोखरीबाट करिब १ घण्टाको पैदल यात्राबाट गुम्बा पुग्न सकिन्छ । गुम्बा रहेको स्थानबाट बाह्रैमास सेताम्बे देखिने कुम्भकर्ण, कञ्चनजंघाको सुन्दर दृष्यले जो काहीको मन लोभ्यान सक्छ । यहाँबाट पूर्वकै प्रमुख धार्मिक स्थल पाथिभरा, पर्यटकीय स्थल चिवाभञ्ज्याङको हरियाली सुन्दर दृष्यावलोकनसमेत गर्न सकिन्छ ।