विनु तिमिल्सीना मोरङ । यहाँका अपाङ्गता भएका व्यक्तिहरुले आफूसँग सीप हुँदा अपाङ्गता भएको महसुस नहुने बताएका छन् । सीपमुलक तालिम लिएर आत्मनिर्भर बनेका अपाङ्गता भएका व्यक्तिहरुले यस्तो बताएका हुन् । ‘अपाङ्गता भएकाहरुको उत्पादन सामाग्री प्रदर्शनी मेला’ मा आफ्ना उत्पादित सामाग्री प्रदर्शन गरिरहेका उनीहरुले सीपका कारण आफूहरूले समाजमा सम्मानित जीवन जिउन सकेको भन्दै खुसी व्यक्त गरे ।
उदाहरण १धनकुटा–४ पाख्रीबासकी ३१ वर्षीय जुना घिमिरे स्वरोजगार छिन् । दुई दशक अघि अचानक उनको खुट्टामा घाउ आयोे । देब्रे खुट्टामा घाउ बढ्दै गएपछि अस्पतालमा गएर शल्यक्रिया गरिन् । २०५६ सालदेखि नै जुना शारीरिक रुपमा अपाङ्गता भइन् र वैशाखीको सहारामा हिंडडुल गर्नुपर्ने अवस्थामा पुगिन् । तर शारीरिक रूपमा अपाङ्गता भएपनि जुनाले आत्मनिर्भर बन्ने प्रण गरिन् ।
घरेलु तथा साना उद्योगको सहयोगमा २०६० सालमा धनकुटामा एक महिनाको सिपमुलक तालिम लिइन् । तालिममा सिकेको सीप व्यवहारमा लागु गर्ने उद्देश्यले २०७० सालमा घरेलु ‘सल्लेपिर अपाङग हस्तकला उद्योग’ दर्ता गरिन् । उद्योग दर्ता गरेकै सालदेखि हस्तकलाको सामाग्रीहरू उत्पादनमा लागि परिन् । उनले अहिले सल्लाको पातबाट उत्पादन हुने हस्तकलाका विभिन्न सामाग्री उत्पादन गरि विक्री वितरण गर्दै आएकी छन् । अहिले उनको आयस्रोतको दरिलो माध्यम नै हस्तकलाका सामाग्री बनेका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामाग्रिको विराटनगरमा सुरु भएकोे प्रदर्शनीमा भेटिएकी जुनाले स्थानीय स्तरमा पाइने सल्लेपिरबाट टि–म्याट, गमला, घैला, करुवा, ठेकी, पिंजडा तथा अन्य विभिन्न हस्तकलाका सामाग्री उत्पादन गर्दै आएकी छन् । यहि व्यवसायबाट उनी अहिले मासिक ३०/४० हजार रुपैयाँ आम्दानी भइरहेको बताउँछिन् । आम्दानीमात्रै होइन समाजमासमेत पहिलेको तसलनमा निकै गौरवका साथ जीवन अघि बढेको उनले महशुस गरेकी छन् ।
![](https://45.77.241.73/wp-content/uploads/2019/12/apangata-7777-1-360x183.jpg)
उदाहरण २मोरङको सुन्दरहरैंचा नगरपालिका–११ पुष्पाञ्जली चोकका दुर्गानाथ योगी दृष्टिविहीन छन् । छडीको साहारामा हिंडडुल गर्छन् । बाँसको मुढा र अगरबत्ती बनाएर दुर्गानाथले राम्रो आम्दानी गर्न थालेका छन् । नेत्रहिन संघ बेलकारीको आयोजनामा सिपमुलक तालिम लिएपछि २०६३ सालदेखि मुढा र अगरबतीको व्यापारबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।
६ जनाको परिवार मुढा बुनेर नै धानिरहेको योगीले सुनाए । योगी अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई मुढा तथा अन्य सिपमुलक तालिम पनि दिदै आएका छन् । दुर्गानाथको पनि सीप हुँदाको जीवन र नहुँदाको पहिलेको जीवनयापनमा भएको परिवर्तन, सहजता र असहजताको पाटो बेग्लै अनुभूति छ ।
जुना घिमिरे र दुर्गानाथ योगी त यो समाजका प्रतिनिधि पात्र मात्रै हुन् । शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि आफूले सक्ने काम गरेर यही समाजमा आत्मनिर्भर भएर बाँचेका थुप्रै उदाहरण पाइन्छन् । आफू र आफ्नो परिवारलाई मात्रै होइन, अरुलाई सिकाएर समेत प्रेरणाको स्रोत बनिरहेका देखिन्छन्।
उदाहरण ३झापा गौरादह नगरपालिका ६ की विष्णु श्रेष्ठ पनि शारीरिक अपाङगता भएकी महिला हुन् । उनले त गौरादहमा लेडिज जुत्ता तथा चप्पलको उद्योग नै खोलेर १० जनालाई रोजगारीसमेत दिएकी छिन् ।
राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर १ र सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ कोे संयुक्त आयोजनामा विराटनगरमा शुक्रबारदेखि सुरु भएको अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामाग्रिहरुको प्रदर्शनीमा १५ वटा स्टलहरु रहेका छन् । प्रदेश १ का विभिन्न जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामाग्रीहरु मात्रै प्रर्दशनीमा राखिएका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरण गराउने उद्देश्यले सामान प्रर्दशनी गरिएको बताएको छ । अपाङ्गता भएकाहरुलाई थप प्रोत्साहन र सीपको खाँचो रहेको प्रदर्शनीका क्रममा सहभागी अन्य अपाङ्गता भएकाहरुको भनाइ छ । यसमा थप प्रभावकारीता ल्याउनका लागि तीनै तहका सरकारले विशेष कार्यक्रम ल्याउनु जरुरी छ ।