नम्रता बानियाँकाठमाडौं । हाम्रो मुलुकमा अध्ययन अध्यापन गराउने विभिन्न प्रकृतिका विद्यालय स्थापित छन् । निजी, सामुदायिक, महिला र पुरुष विद्यालय । त्यही ठाउँमा बाल्य अवस्थाबाट अध्ययन सुरु हुन्छ । तर, सानोमा नपढेका वयस्क महिलालाई पढ्ने विद्यालय भने कमै मात्रामा छन् । सरकारको सन् २०२० सम्म साक्षर नेपाल घोषणा गर्ने भन्ने लक्ष्य रहेको छ तर लक्षित वर्गलाई अझै सरकारी कार्यक्रमहरुले छुन सकेको छैन । निजी क्षेत्रले भने मुलुकको आवश्यकतालाई मध्येनजर गरी विभिन्न विद्यालयको स्थापना गरेका छन् । सेवा र नाफामुखी उद्देश्यसहित विद्यालय खोल्ने गरिएको छ ।
त्यही उदेश्य अनुसारकै हो भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालय । जहाँ विभिन्न कारणले पढाई छुटेका वा सानोमा शिक्षा नपाएका महिला पढ्छन् । विद्यालयमा अध्ययन गर्ने महिला १४ वर्ष माथिका छन् । सानोमा विभिन्न परिस्थितिले विद्यालय जान नपाएका महिलाको आस्थाको केन्द्र पनि बनेको छ, आस्था महिला विद्यालय । केही महिलाको इच्छा र प्रयासमा भक्तपुरको गठ्ठाघरमा आस्था महिला विद्यालय खोलियो । प्रौढ शिक्षा पढाउँदै आएका शिक्षिकाको प्रयास र अन्य महिलाको सहयोगमा आस्था महिला विद्यालय स्थापित भएको हो । प्रौढ शिक्षा अध्ययन गर्न आएका महिलाले थप अध्ययनको इच्छा देखाएपछि विद्यालयलाई निरन्तरता दिइएको हो ।
सुरुवाती दिनमा जम्मा २६ विद्यार्थी जुटाएर विद्यालयले शिक्षा दिन सुरु ग¥यो । वयस्क महिलाहरुका लागि पनि विद्यालय खुलेको छ भन्ने सन्देश प्रवाह गर्दै गयो आस्था महिला विद्यालय । विशेष गरी पर्चाहरु बाँडेर विद्यालयले विज्ञापन गर्न थाल्यो । त्यही पर्चा पढेरै पनि धेरै महिला दिदीबहिनी विद्यालय सम्म आइपुग्नु भएको छ । उहाँहरुको वयस्क उमेरमा शिक्षा लिने रहर समेत पूरा भएको छ । पढ्नलाई उमेरले कहिल्यै छेक्दैन, चाहिन्छ त केबल दृढ इच्छा शक्ति । यही कुराको उदाहरण हुनुहुन्छ ६१ वर्षीया चन्द्रलक्ष्मी श्रेष्ठ । उहाँ अहिले कक्षा ७ मा अध्ययन गर्नुहुन्छ । पढ्न नसक्दा आफूलाई हिनताबोध भएपछि घर परिवारको सल्लाहमा उहाँ आस्था महिला विद्यालयमा पढ्न आउनु भएको हो । उमेरसँगै सम्झन सक्ने शक्तिमा पनि कमि आएपछि उहाँलाई पढाएको कुरा सम्झिन गार्हो भएपनि समय मिलेसम्म पढ्नु हुन्छ । सिकाई जीवनपर्यन्त हुन्छ भन्ने उदाहरण पनि हुन् श्रेष्ठ ।
बढ्दो उमेरसँगै स्मरण शक्तिमा कमी आउने गर्दछ । जसका कारण साना बालबालिकालाई पढाउनु भन्दा पनि वयस्क विद्यार्थीहरुलाई पढाउनु शिक्षिकालाई चुनौतीपूर्ण छ । शिक्षिका सरला घिमिरे एक पटक पढाएको र राम्रोसँग बुझाएर पठाएको विषयवस्तु अर्कौ दिन बिर्सिंदा फेरि शुरुबाट पढाउनुपर्ने बताउनु हुन्छ । तर, ती आमाहरुलाई पढाउन पाउँदा शिक्षिका भने निकै खुशी छन् । वयस्क उमेरका महिलरुले पढ्नका निम्ति देखाएको इच्छामा थप इँटा पनि बनेका शिक्षिकाहरु ।
विद्यालयमा २ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । कक्षाकोठाको अभावमा विद्यालयले बिहान र दिवा गरेर दुई सिफ्टमा कक्षा सञ्चालन गरिरहेको छ । निजी स्रोतबाट विद्यालय सञ्चालन गरिरहेको हुनाले अहिले विद्यालयले चलाउन निकै हम्मेहम्मे परेको छ । आफ्नै भवन नहुँदा भाडाको घरमा विद्यालय चलाउनु परिरहेको छ । सह–प्रधाध्यापक बिना देउजा सबै विद्यार्थीलाई एकै ठाउँमा राखेर कार्यक्रम गर्ने हलको समस्या भएको बताउनु हुन्छ । अभावका बीच पनि अध्ययन र अध्यापन गराउनेको मेहनत निरन्तर जारी छ ।
विद्यालयमा कक्षा १ देखि ३ सम्म एकै कक्षामा पढाइन्छ । जसलाई आधारभूत तह पनि भन्ने गरिएको छ । ३ कक्षासम्म विद्यार्थीलाई अक्षर चिन्न, लेख्न र पढ्न सिकाइन्छ । कक्षा ४ देखि निरन्तर १० कक्षासम्म विभिन्न विषय पढाइन्छ । विद्यालयले अहिले सम्ममा ६ ब्याचलाई सफलतापूर्वक बिदाइ गरिसकेको छ । विद्यालय शिक्षा उत्तीर्ण गरेका विद्यार्थी कोही फार्मेसी पढिरहेका छन्, केही कानुन त केही अनमी पढिरहेका छन् ।
विद्यालयले २०७४÷७५ सम्म विद्यार्थीलाई पढाई मात्र नभई सीप पनि सिकाउनु पर्छ भनेर सिलाई बुनाईको कक्षा सञ्चालन गर्दै आएको थियो । केही व्यक्तिले सहयोग स्वरुप सिलाईको मेसिन समेत दिएका थिए तर कक्षाकोठाको अभावमा सीपमूलक तालिमले निरन्तरता पाउन सकेन ।ठूला विद्यार्थी भएकाले उनीहरु आफ्नो घरको सबै काम सकेर पढ्न जान्छन् र फर्केपछि घरको काम गर्नुपर्ने भएकाले उनीहरुले किताब हेर्ने समयसम्म पाउँदैनन् । तर, हर परिस्थितिमा पनि पढ्न भने छाडेका छैनन् ।
महिला विद्यालयले धेरै वयस्क महिलाको शिक्षामा पहुँच बढाएको छ । अहिले त प्रविधिको विकास अनि छोरा छोरी प्रायः विदेशिएकाले पनि मोबाइल चलाउन भएपनि पढ्नुपर्ने रहेछ भन्ने तर्फ केन्द्रित छन् महिला । त्यसैलेपनि यो शिक्षाको महत्व झन् बढ्न थालेको छ । छोराछोरीसँग बोल्न सकियोस् भनेर पनि शिक्षाको मन्दिरसम्म यी आमालाई डो¥याइ रहेको छ । विद्यालय सबैको सानो–सानो प्रयासमा सञ्चालित छ । विद्यालयमा नजिकका विद्यार्थी भन्दा पनि दुवाकोट, साँगा, पेप्सीकोला, सिरुटार र बालकोटका विद्यार्थी पढ्न आउँछन् । शिक्षा अब सबैको लागि जरुरी जस्तै बनिसकेको छ ।
यस्ता विद्यालय अझै पर्याप्त रुपमा सबै ठाउँमा उपलब्ध छैनन् । जसकाकारण अझै पढाइलाई निरन्तरता दिन्छु भन्ने दिदीबहिनीलाई विद्यालयको अभाव छ । साना बालबालिकासँग पढ्न जान पनि सक्दैनन् उनीहरु । त्यसैले ठाउँ–ठाउँमा यस्ता विद्यालय खोल्नुपर्छ भन्ने गतिलो उदाहरण बनेको छ, आस्था महिला विद्यालय । मुलुकलाई साक्षर तुल्याउन र सबै नागरिकको जीवनशैलीलाई सहज बनाउनका निम्ति हरेक नागरिक शिक्षित हुन जरुरी छ । बढ्दो आधुनिकतासँगै भित्रिएको प्रविधिसँग तालमेल गर्नपनि शिक्षा अनिवार्य आवश्यकता बन्दै गएको छ ।
https://www.youtube.com/watch?v=4GZqVHzyzrI