भगीरथ भण्डारी इलाम । जो कोहीलाई नयाँ ठाउँ घुम्ने रहर हुन्छ नै । मानिसमा नयाँ ठाउँ तथा नयाँ परिवेशको चाहना हुनु स्वभाविकै पनि हो । नेपालमा घुम्न रुचाउनेको नजरमा पर्ने धेरै स्थान छन् । ती मध्ये आन्तरिक तथा बाह्य पर्यटकको राेजाइमा पर्ने एक ठाउँ हो, इलाम । मुलुकको सुदूरपूर्वमा अवस्थित भएपनि यसले यहाँ आउने पर्यटकको मन जित्दै बेग्लै पहिचान बनाइरहेकाे छ ।
पर्यटकले रुचाउने स्थान वर्षेनी परिवर्तन हुने भएपनि इलाम त्यस्तो ठाउँ हो, जहाँ आउने पर्यटकका लागि यो सदा अविस्मरणीय बनिरहन्छ । यहाँको चिया बगान होस् वा काठै-काठको संरचना भएको इलाम बजार । नारायणथान, माईथान, सिंहबाहिनी सेतीदेवी, भालु ढुङ्गाजस्ता पर्यटकलाई अपार आनन्द दिलाउने क्षेत्र हुन् वा यहाँको लोभलाग्दो ग्रामीण जीवनशैली र संस्कृति । यी सबले इलाममा पर्यटकको घुइँचो लगारहेका छन् ।
सरकारले घोषणा गरेको २०२० लाई नेपाल भ्रमण वर्षको सफलताको लागि पर्यटकीय गन्तव्यकाे महत्वपूर्ण भूमिका रहन्छ । यहाँ भ्रमण वर्षलाई साँच्चिकै सफल बनाउन भूमिका खेल्नसक्ने इलामका केही पर्यटकीय ठाउँको चर्चा गर्ने प्रयास गरिन्छ ।
पाथिभरा इलामको धार्मिक पर्यटकीय स्थल हो, पाथीभरा । पाथीभरा मुख्यतया: इलाममा धार्मिक पर्यटकलाई आकर्षण गर्ने मुख्य केन्द्र बनेको छ ।
मेची राजमार्ग कोल्बूङ सडक खण्डअन्तर्गत पर्ने यो धार्मिकस्थलमा झापा बिर्तामोडबाट एक घण्टाको मोटर याात्रापछि मात्रै पुगिन्छ । पाथीभरा अन्य पर्यटकीय क्षेत्र भन्दा भिन्न छ । आगन्तुकहरू यो ठाँउमा आएर भाकल गर्ने र अध्यात्मिक आनन्द लिने गर्छन् । चारैतिर घना जंगल र पहाडको उच्च थुम्कामा रहेको यो अति सुन्दर र शान्त स्थान पनि हो ।
विगत केही वर्षदेखि दिनानुदिन धार्मिक पर्यटक बढ्दै गएसँगै यसको प्रसिद्धि पनि बढ्दै गएको छ । पाथीभरामा आउने आगन्तुकका लागि होटेल तथा लजको सुविधा अहिले थपिँदै गएको छ । कन्याम र फिक्कल बजारको दुरी नजिक भएकाले पनि यहाँका पर्यटकले खान र बस्नका लागि असुविधा बेहोर्नुपर्दैन । यसकारण धार्मिक आस्था र विचार भएका पर्यटनप्रेमी आगन्तुक पाहुनाका लागि यो ठाँउ विशेष मान्न सकिन्छ ।
कन्याम सबैभन्दा बढि मात्रामा पर्यटकको रोजाइमा परेको जिल्लाको अर्को महत्वपूर्ण ठाँउ हाे कन्याम र यहाँको चिया बगान । यो पर्यटकीय स्थल इलाम मेचि राजमार्ग अन्तर्गत सूर्योदय नगरपालिकामा पर्दछ । झापा बिर्तामोडबाट एक घण्टाको मोटर यात्रापछि फिक्कलको कन्याम चिया बगान आइपुगिन्छ । कन्याम चिया बगानको सुन्दरता अवलोकन गर्न दिनहुँ हजारौं आन्तरीक र बाहय आगन्तुक आउने गर्दछन् ।
कन्यामको सुन्दरता देखेर जो कोही पनि मन्त्रमुग्ध हुने गर्दछन् । कन्याम क्षेत्र वरिपरी चारैतिर चियाका हरियाली बुट्यान देख्दा हर कोहिलाई यो ठाउँसँग साइनो गाँस्ने मन लाग्छ । यहाँको पिकनिक स्पट कार्तिक र मंसिर महिनामा मनिसले भरिभराउ हुन्छ । कन्यामबाट घोडचढी गर्दै भारतका दार्जिलिङ र कालेम्पोकोङको दृश्यावलोकन गरेर आनन्द लिन सकिन्छ । त्यतिमात्रै होइन, एकाबिहानै सूर्यको लालिकिरणमा कञ्चनजंगा र कुम्भकर्णहरू चाँदीजस्तै छचल्किएको दृश्यले त मन नै फुरुङ्ग बनाउँछ ।
पर्यटकको सहजताका लागि यहाँ अत्याधुनिक होटेल तथा लजको सुविधा प्रदान गर्ने प्रयास भइरहेको छ । चसाेमा यहाँ घुम्न आउने पर्यटकका लागि भने न्यानो पहिरन र तातो खानपानको आवश्यक पर्दछ ।
ढापपोखरी समुदायको पहलबाट पर्यटकीय गन्तव्य बनेको हो, ढापपोखरी । सन्दकपुर गाउँपालिका -५ जमुनाका बासिन्दाले सिमसार क्षेत्रलाई पोखरीको रूप दिँदै डुंगा सञ्चालनमा ल्याएका हुन् ।
१ हजार ७ सय मिटरको उचाइँमा रहेको यो पोखरीमा डुंगा सञ्चालन थालिएपछि आन्तरिक पर्यटकको ताँती लाग्न थालेको छ । ५० रोपनी क्षेत्रफलमा फैलिएको पोखरीमा माछापालन गर्दै फिसिङ गर्ने सुविधा दिने स्थानीयको योजना छ । सन्दकपुरका रेडपान्डा पाइने स्थान हाँगेथाम, चोयाटार, दोबाटे, टोड्के झरना, माईपोखरी, जौबारी लगायतका क्षेत्र पर्यटकक लागि पुग्नैपर्ने ठाउँ हुन् ।
माइपोखरी इलाम सदरमुकामदेखि १३ किलोमिटर उत्तरको रामसार क्षेत्रमा पर्यटकीय क्षेत्रका रुपमा सूचिकृत छ, माइपोखरी । यहाँ रैथाने गलैंचे, झ्याउ, रूख भ्यागुतो, ठकठके जस्ता दुर्लभ जन्तु र वनस्पति पाइन्छन् भने ३ सय बढी चराका प्रजाति पाइने विज्ञहरू बताउँछन् । २ हजार १ सय २१ मिटरको उचाइमा रहेको माइपोखरीमा दुई हेक्टर जलाशयसहित १२ हेक्टर क्षेत्रलाई जैविक विविधताको दृष्टिले संवेदनशील मानिन्छ ।
माइपोखरीमा होटल पनि छन् । मेची राजमार्गको बिब्ल्याँटेबाट ९ किलोमिटर दुरीमा रहेको यहाँ पूजापाठसहित घुमघामका लागि आउनेको भीड नै लाग्ने गर्दछ । तिहारपछिको ठूले एकादशीमा मेला लाग्ने गर्दछ ।
नवदुर्गाको प्रतिकमा ९ कुनामा विशाल रुपमा फिँजिएर रहेको यो ताल सुन्दर, शान्त र निश्चल छ । वरिपरी धुपि सल्ला र गुराँसका बुट्यानहरुले तालको सुन्दरता अझ बढाएको छ । तालभित्रका रंगिबिरगीं माछाले पर्यटकलाई मोहित पार्दछन् । यहाँ पाइने सरिसृप प्रजाति र विश्वमै दुर्लभ गलंचे झ्याउको बेग्लै विशेषता छ । विभिन्न फूलले भरिभराउ सुसज्जित बगैंचाले गर्दा पनि पर्यटकहरु तस्बिर कैद गर्न मोहित हुने गर्दछन् ।
पोखरी वरिपरि मोटरबाटोको सुविधा छ । उत्तर दिशातिर देउराली डाँडा र बजारका कारण जो कसैलाई रम्न बाध्य तुल्याउँछ । आगन्तुकको सुविधाको लागि यस ठाँउमा होटेल तथा लजको सुविधा हाल पर्याप्त मात्रामा छ । बिशेष गरी यो ठाँउमा कार्तिक मंसिर महिनामा ठण्डा हुने भएकोले न्यानो लुगा कपडाको भने जरुरी पर्ने हुन्छ ।
सन्दकपुर सन्दकपुर एउटा अर्को सूर्योदयका लागि इलामको प्रसिद्ध ठाँउ हो । इलाम बजारदेखि बरबोटे सुलबुङ हुँदै तिनकुने बजार बाटोबाट अघि बढ्दा सन्दकपुर पुगिन्छ । यहाँ भारतको सुकिया र नेपालको मानेभञ्ज्याङ हुँदै आउन सकिन्छ । माइपोखरी माबु हुँदै पनि यहाँ पर्यटक आउने गर्दछन् ।
सन्दकपुरको बिशेषता पनि अन्य ठाउँको भन्दा बेग्लै छ । यहाँ आउने पर्यटक हिउँसँग रम्न र सूर्योदयकाे दृश्यावलोकन गर्न रुचाउँछन् । इलामकैे उच्च स्थानमा (३६३६ मि) पर्ने हुँदा यहाँ हिँउ झर्ने र चिसो को बढी महशुस हुने गर्छ । यहाँबाट सगरमाथा, कञ्चनजंगा, ल्होत्से, मकालु जस्ता हिमाल समेत देख्न पाइन्छ ।
यहाँ नेपाल भारत सिमाना पर्ने हुनाले भारतको बाटो हुन्दै अत्याधिक संख्यामा स्वदेशी तथा विदेशी पर्यटक भित्रिने गर्छन् । सन्दकपुरको अर्को आकर्षक पक्ष भनेको यहाँ गुराँसका प्रजाति प्रशस्त भेटिन्छन् । चैत र वैशाख महिना लहलाउँदो गरेर फुल्ने गुराँसमाले जाेकाेहीलाई मोहित पार्छ। यसर्थ सन्दकपुर घुम्न आउने पर्यटकलाई यो ठाँउ एकपटक घुमिसकेपछि पश्चातापको अनुभूति गर्नु पर्दैन ।
गजुरमुखी धाम इलाम सदरमुकामदेखि पश्चिमी क्षेत्रमा रहेको करिब ४१-४२ किलोमिटर मोटर यात्रापछि पुगिने धार्मिक स्थान हो, गजुरमुखीधाम । यहाँ पुग्नका लागि सदरमुकामदेखि नेपालटार, मंगलबारे बजार हुँदै धुसेनी र गजुरमुखी जोड्ने पक्कि पुल पार गर्नुपर्छ । देउमाई किनारमा अवस्थित गजुरमुखीमा प्रायजसो धार्मिक आस्था राख्नेअरू आफ्नो भाकल पूरा गर्न आउने गर्छन् ।
गजुरमुखीको नाममा भाकल गर्दा आफूले इच्छाएको काम पुग्ने र सफलता मिल्ने धार्मिक विश्वास छ । धाममा भाकल गरेपछि असफल भएको काममा सफलता मिल्ने र कसैलाई सन्तान प्राप्ति नभएमा सन्तान प्राप्ति हुने र बोली बन्द भएकालाई बोली फर्काइदिने विश्वास गर्ने गरिन्छ ।
यस धाममा कार्तिक पूर्णिमाका दिन मेला लाग्ने हुँदा विशेष गरेर रमाइलो मेला भर्नेहरु आउँछन् । पर्यटकको सुविधाका लागि सुविधाजनक होटेल तथा लजको व्यवस्था छ । सवारी सुविधा बढाउन गजुरमुखीधामदेखि झापा बिर्तामोडसम्म यातायाता सञ्चालन हुन्छ ।
सिद्धिथुम्का डाँडा सूर्योदय र सूर्यास्त अवलोकनका लागि अर्को पर्यटकीय गन्तव्य हो, सिद्धिथुम्काडाँडा । सदरमुकामबाट १४-१५ किलोमिटर मोटर बाटोको यात्रा तय गरेपछि सिद्धिथुम्काडाँडा पुगिन्छ । सोयाकको सिमानामा रहेको सिद्धिथुम्काडाँडामा अवस्थित मन्दिरमा पूजा/आजा गरेमा आफ्नो इच्छा पूरा हुने भएकोले यो ठाउँको नाम सिद्धिथुम्का डाँडा रहन गएको किवंदन्ती छ ।
देउमाई नगरपालिकामा पर्ने सिद्धिथुम्का डाँडाबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देख्न सकिन्छ । यहाँबाट झापा र मोरङका लमतन्न फाँटको मनोरम दृश्यसमेत अवलोकन गर्न सकिन्छ । यहाँ आइपुग्नका लागि गन्तव्यसम्म मोटर बाटोको सुविधा भएमा सूर्यावलोकन र सूर्यास्तको लागि भ्युटावरको सुविधा गर्न सकेमा आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्ने अनुमान गर्न सकिन्छ ।
पर्यटकलाई लक्षित गरेर सिद्धिथुम्का डाँडामा स्थानीय तथा जातिय सांस्कृतिक विविधता झल्किने गरी होमस्टे, होटेल तथा लजको समेत व्यवस्था छ ।
श्रीअन्तु डाँडा नेपालको उत्कृष्ट सूर्याेदय दृश्यावलोकनको रुपमा श्रीअन्तुडाँडा परिचित छ । एकताका युवराज दीपेन्द्र यो ठाउँमा आएकाले यसलाई दीपेन्द्र शिखर पनि भन्ने गरिन्छ ।
इलामको फिक्कलबाट पूर्वतर्फ १४ किलोमीटरको दूरीमा रहेको यो स्थानमा पुग्न १ घण्टाको मोटर बाटो हिंड्दै सिद्धिखोला पार गर्नुपर्छ । यहाँबाट छिमेकी मुलुकका कर्साङ, दार्जिलिङ, कालेम्पोङ र शूर्यकिरणसँगै कञ्चनजंगा देख्न सकिन्छ ।
हजारौं पर्यटकको रोजा बनिरहेको अन्तुडाँडामा हरिया चियाका बुट्यान जताततै देखिन्छन् । यहाँकाे आकर्षक जीवनशैलीले पर्यटकलाई मोहित पार्नुका साथै लोपाेन्मुख लेप्चा जातिको लेप्चा संग्रहालय र लेप्चा जातिको संस्कार तथा संस्कृतिले यहाँको पर्यटनमा थप रौनकता बढाएको छ ।
माङसेबुङ (लारुम्बा) जिल्लाको मासेबङु गाउँपालिकामा रहेको माङसेबुङ (लारुम्बा) किराँत धर्मावलम्बिको लागि प्रसिद्ध ठाँउ हो । इलाम सदरमुकामदेखि पश्चिममा पर्ने लगभग २०, २१ किलोमिटरको दुरीमा रहेकोयो ठाउँमा झापाको दमकदेखि रतुवा हुँदै मासेबुङ आई पुगिन्छ ।
किराँत धर्मालम्बिहरुको धार्मिक तिर्थस्थलका रुपमा चिनिने यहाँका मानिसहरु यसलाई शाकाहारी शहर पनि भन्ने गर्दछन् । धार्मिक प्रकृतिका मानिसको बढी बसोबास भएकाले यहाँ धुम्रपान तथा मध्यपान गर्न पाइँदैन । हरेक वर्षको कार्तिक र मंसीरमा महागुरु फाल्गुनन्द र अङ्सिमाङ आत्मानन्दको जन्मोत्सवको अवसरमा देश विदेशबाट यहाँ भक्तजनहरु आउने गर्दछन ।
टोड्के झरना टोड्के झरना इलामको एकमात्र प्रसिद्ध र अग्लो झरना हो । यो झरना जिल्लाको साबिक माइमझुवा गाविस अर्थात हालकाे सन्दकपुर गाँउपालीका २ माइमझुवामा अवस्थित छ । २५० मिटरको उचाइँमा रहेको यो स्थानमा पुग्न इलाम सदरमुकामदेखि करिब साढे २ घण्टाको मोटर यात्रा गर्नुपर्दछ ।
टोड्के झरना जिल्लाको सबभन्दा लामो झरना र आकर्षक झरना भएकोले यसको महत्व बढेको हो । यहाँ चारैतिरकाे हरियाली तथा बिचमा छङछङ झर्ने झरनाका कारण मन नै रोमाञ्चित हुन्छ । झरनासँग जो कोहीलाई केहि समय भएपनि भिज्न मन लाग्छ ।
त्यस्तै यहाँको अर्को विशेषता हो रेड पाण्डा पाइनु । नेपालमै दुर्लभ देखिएको रेड पाण्डा (हाब्रे) यहि क्षेत्रमा पाइन्छ । पर्यटकलाई अथाह मनोरञ्जन मिल्ने यो ठाउँमा रेडपाण्डाको विशेष संरक्षण गरिएको छ ।