विनु तिम्सिना विराटनगर । पर्यटन भ्रमण वर्ष प्रदेश १ सरकारले विदेशी पाहुनालाई सहभागी गराउँदै भ्रमण वर्ष २०२० को शुरुवात गरेको छ ।
विराटनगरको शहीद रंगशालामा भव्य समारोहका बीच बुधबार भ्रमण वर्षको सुरुवात गरिएको हो ।
मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्दा समारोहमा भारत सिक्किम सरकारका प्रचार संयोजक वीरेन्द्र ताम्ली, पश्चिम बंगाल सिलिगुडीका पर्यटन व्यवसायी राज बासुलगायतको सहभागिता थियो ।
विश्वकै अग्लो सगरमाथा, नेपालकै होचो भाग केचना कवच र नेपालकै होचो उपत्यका अरुण पनि प्रदेश १ मै रहेको बताउँदै मुख्यमन्त्री शेरधन राईले तीनवटा राष्ट्रिय निकुञ्ज र एक आरक्ष रहेको प्रदेश १ का विभिन्न क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन प्रदेश सरकारले कुनै कसुर नछाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पश्चिम बंगालका पर्यटन व्यवसायी राज बासुले नेपाली भाषामा मन्तव्य राख्दै प्रदेश १ मा पर्यटनको सम्भावना भएका धेरै क्षेत्र भएको बताउँदैकोशी टप्पुको अझ प्रचार हुनु जरुरी रहेको बताउनुभयो । पर्यटन व्यवसायी, पश्चिम बंगाल कार्यक्रम स्थलमा हेलिकोप्टरबाट पुष्पवृष्टि गराइएको थियो । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र नेपाल स्काउटले कला प्रदर्शन गरेका थिए । आदिबासी, जनजाति, शैक्षिक संस्था, संरक्षण क्षेत्र, वन उपभोक्तालगायतले विभिन्न भेषभूषामा झाँकी प्रदर्शन गरेका थिए ।
प्रदेश १ निवासी नेपालका चर्चित व्यक्तिहरू, हिमाल आरोही, नेपालकै अग्लो व्यक्ति लगायतलाई कार्यक्रममा सम्मान गरिएको थियो।