रुकुम । पूर्वी रुकुममा हिमपात भएको छ । बढ्दो चिसोको कारण हिमाली, उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । रुकुमपूर्वमा यस वर्ष भएको यो दोस्रो हिमपात हो । जिल्लाका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातसँगै पानी समेत परेको छ । हिमपात र पानीकाे कारणा चिसो अत्यधिक हुँदा जनजीवन कष्टकर बनेको छ ।
प्रदेश ५ को एकमात्र हिमाली जिल्ला रुकुमपूर्वमा मंसिरको अन्तिम साता हिमपात भएको थियो । जिल्लाका विभिन्न ठाउँमा भएको हिमपात र वर्षाले किसान भने हर्षित भएका छन् । सिँचाइसुविधा नभएको र सधैँ आकाशे पानीको भरमा खेतीपाती गर्ने किसानलाई भने बेला–बेलामा हिमपातसँगै भएको वर्षाले ठूलो राहत मिल्ने गरेको सिस्ने गाउँपालिका वडा नम्बर ५ का वसन्त बस्नेतले बताउनुभयो ।
हिमपात तथा वर्षाले कतै मानिस खुशी भएका छन् । कतै चिसोले जनजीवन नै प्रभावित बन्न पुगेको छ । रुकुमपूर्व का सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न उच्च लेकाली क्षेत्रमा भएको हिमपातले चिसोे निकै बढेको स्थानीयवासीले बताएका छन् ।
हिमपात हुँदा मानिसलाई मात्र नभई पशुचौपायलाई पनि चरणक्षेत्रको अभाव हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका टीका घर्तीले बताउनुभयो । हिमपातको कारण बाहिर निस्कन, हिड्डुल तथा दैनिक कामकाज गर्न समस्या भएको उहाँले बताउनुभएको छ । जिल्लावासी दाउरा बालेर आगो ताप्दै बसिरहेका छन् ।
जेष्ठ नागरिकलाई कम्बल वितरण
पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १२ का ज्येष्ठ नागरिकलाई चिसोबाट बच्नका लागि स्थानीय सरकारले कम्बल वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर १२ कोलका सामाजिक सुरक्षाभत्ता पाउने ४५ ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति एक÷एक थान कम्बल वितरण गरेको हो ।
हिमपात भएसँगै बढेको चिसोले स्वास्थ्यमा समस्या नआओस् भन्ने उद्देश्यले सामाजिक सुरक्षाभत्ता पाउने वडाका सबै ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको वडाध्यक्ष गंगा पुनले बताउनुभयो । कम्बल पाएपछि ज्येष्ठ नागरिक खुशी भएका छन् ।