शिब बोहोरा बागलुङ । मानो रोपेर मुरी उत्पादन हुने खेतबारी वर्षेनी बाँझिदै गएको छ । बागलुङको गलकोटबाट शहरी क्षेत्रमा बसाइँ सराई गर्दै जाने क्रम बढेपछि उनीहरुले भोगचलन गर्दै आएको खेतीयोग्य जमिन दिनप्रतिदिन बाँझिदै गएको हो । गाउँका पाखा पखेरा, खेतबारी बाँझिदै जान थालेपछि अन्न उत्पादनमा समेत अत्याधिक गिरावट आएको छ ।
सदरमुकाम र बाहिरी शहरमा बसाइँ सराई गरेर जानेहरुले खेतबारी त्यसै छाडेर हिँड्ने गरेको स्थानीय धान बहादुर विकले बताउनुभयो । पुस्तौँदेखि भोगचलन गर्दै आएको जमिन छाडेर हिँड्नु, अधियाँमा खेती गर्ने मानिस पाइन छोड्नु, युवा विदेश पलायन हुनु, बस्तुभाउ पाल्ने चलन हराउनु, मलजल, गोरु, हली, खेतालाको अभाव आदि कारणबाट गलकोटको सयौँ हेक्टर जमिन बाँझिन पुगेको हो ।
कालिलेकमा मानव बस्ती रित्तिएको पनि ८ वर्ष भइसकेको छ । कालिलेकको करिब २० हेक्टर जमिनमा अहिले बनमारा र कुरो फुलेको स्थानीय जय बहादुर बुढाथोकी बताउनुहुन्छ । गलकोट नगरपाकिला–२ को बाख्रेमा समेत बाँझो जमिनको क्षेत्र दिनप्रतिदिन बढ्दै गएको छ । युवा पुस्ता कृषितर्फ आकर्षित हुन नसक्दा खेतियोग्य जमिन बाँझो तथा खरबारीको रुपमा परिणत हुँदै गएका हुन् ।
बसाइँ सराईसँगै रोजगारीका लागि विदेशिएका घरपरिवार शहरमा बस्ने चलनले गाउँका सयौँ मुरी अन्न उत्पादन हुने खेतीयोग्य जमिन चौर जस्तै हुन थालेको गाउँका बुढापाका दुखेसो पोख्छन्। गल्कोटका साबिक काँडेवास, मल्म, नरेठाटी, दुदिलाभाटी, हरिचौरलगायतका वाडका जमिन बाँझै देखिन थालेका छन् ।
सानैदेखि आँफैले अन्नबालि उब्जाएर आफ्नै उत्पादन उपभोग गर्ने र बेच्नसमेत सक्ने स्थानीय बुढापाकाहरु पनि हाल चामल किनेर खान थालेका छन् । आफूले गर्न सक्दासम्म आँफैले उब्जाएको खानेहरु अहिले बुढेसकालमा किनेको चामल र तरकारी खानुपरेको गुनासो गर्छन ।