काठमाडौं । राष्ट्रिय नाचघरद्वारा आयोजित स्रष्टा र सिर्जनाअन्तर्गत कविता वाचन कार्यक्रममा कवि शान्ति शर्माको एकल कविता वाचन सम्पन्न भएको छ ।
कार्यक्रममा शर्माले १२ कविता वाचन गर्नुभयो । जसअन्तर्गत शर्मा स्वयंले सात र कविहरु लक्ष्मी रुम्बा, टिएन भट्ट, प्रकाश बस्नेत गफाडी, शिवराम खड्का र जङ्ग पहाडीले एक एकवटा कविता सुनाउनु भएको थियो ।
आफ्ना कविता सुनाउने क्रममा शर्माले स्वादिलो र नरम स्वरले सम्पूर्ण श्रोतालाई मन्त्रमुग्ध पार्नुभएको थियो । शर्माले नारी सुलभ, कोमलता, सहजता, प्राकृतिक हरित पक्षको विचरण, मानवीय संवेदना तथा प्रणयात्मक विछोड मिस्रित कविता वाचन गर्नुभयो ।
विपिन घिमिरेको उद्घोषण, खडक बुढाको सभापतित्व, तुलसी दिवसको प्रमुख आतितिथ्य, ज्ञानुवाकर पौडेल, कुमार कोइराला, सनतकुमार वस्ती, प्रकट पङ्गेनी शिव, कलानिधि दाहाल, मुक्ति बास्तोला, विजयध्वज थापा, राजु सिंह, राजबाबु श्रेष्ठ, तुलसीहरि कोइरालाको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
एकल कविता वाचनलाई सम्बोधन गर्नुहुँदै कवि तुलसी दिवसले शर्माका कवितामा श्रष्टाको इमान्दारिता देखिएको उल्लेख गर्नुभयो ।
सोलुखुम्बुमा जन्मिनुभएकी कवि शान्ति शर्माले उतैको विम्ब, परिवेश तथा वातावारणलाई आफ्ना कवितामा उतारेको कारण कविता साँच्चिकै अर्गानिक भएको दिवसले बताउनुभयो । कविहरू ताली र गालीको पछाडि नलागी स्वतन्त्र र निर्भिक भएर लेख्नुपर्नेमा उहााको जोड थियो ।
शर्माका कवितामाथि प्रा.डा. कुमार कोइरालाले समिक्षात्मक टिप्पणी गर्नुभएको थियो । राष्ट्रिय नाचघर, जमलले हरेक महिनाको तेस्रो बिहिबार सञ्चालन गर्ने नियमित कार्यक्रमको यो उन्नाइसौँ शृङ्खलामा कवि शान्ति शर्माको एकल कविता वाचन सम्पन्न भएको हो ।