खेम बम काठमाडौं । अपरान्ह ४ बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराज विमानस्थलमा ओर्लिइन् । मित्रराष्ट्रको माया र आपसी सद्भावलाई कायम राख्न नेपाल आएको बताउदै उनले विमानस्थलमा हात हल्लाउदै भनिन्,‘नेपाल हमारा मित्र राष्ट्र हे, इस भ्रमण मे और कुछ नही, सम्बन्ध मजबुद बनाने के लिए है ।’
पत्रकारहरुले प्रश्न तेर्साउदै गर्दा उनी मुस्कुराउदै बाहिरिएकी थिईन् । स्वराज विमानस्थलबाट सिधै सोल्टी होटलमा पुगिन् । त्यहाँ एमाले नेता केपी शर्मा ओली र अन्य नेताहरुले स्वराजलाई भव्य स्वागत गरे । सोल्टीमा रात्रीभोजको समेत व्यवस्था गरिएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र विदेशमन्त्री स्वराजबीच एक्ला एक्लै भेटमा नेपालको समसामयिक राजनीतिक अवस्था र वाम गठवन्धनको एकता प्रक्रियाको बिषयमा छलफल भयो । सोल्टी होटेलको एक बैठक कोठामा ओली र स्वराजबीच भएको ‘वा न टू वान’ वार्तामा नेपालको संविधान र संघीयता कार्यान्वयन अन्तिम चरणमा पुगेको प्रति विदेशमन्त्री स्वराजले ओलीलाई बधाई समेत दिईन् ।
हिजोका दिनमा भएका असमझदारी र व्यबधानलाई बिर्सदै नयाँ र प्रगाढ सम्बन्धका साथ अगाडी बढ्न समेत उनले ओलीलाई सुझाईन् । अध्यक्ष ओलीले पनि यो भेट दुवै देशको लागि फलदायी भएको र नेपाल–भारतको सम्बन्ध सुधारमा सहयोग पुग्ने धारणा राखेका थिए ।
विदेशमन्त्री स्वराजको यो दुई दिने भ्रमणलाई अनेक कोणबाट बिश्लेषण गरिएता पनि पछिल्लो समयमा सान्दर्भिक भएको चर्चा हुन थालेको छ । ओलीले समेत आफ्नै आग्रहमा स्वराज नेपाल आएको बताएका छन् । भेटमा एमाले नेता ईश्वर पोखरेल, प्रदिप ज्ञवाली समेत सहभागी थिए ।
सोल्टी होटेलमा स्वराजलाई भेट्न मधेसीदलका नेताहरु समेत बाहिर कुरेका थिए । ओलीसँगको भेट लगत्तै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुसँग ४० मिनेट सामुहिक कुराकानी गरिन् । मधेसी नेतासँगको कुराकानीमा राजनीतिक विषयले भन्दा बढी मधेसको विकाससम्बन्धी प्रोजेक्टहरुमा बढी समय खपत भयो ।
स्वराजले राजपाका नेताहरुलाई सरकार बनाउन सहयोग गर्न आग्रह गरिन् । तर नेताहरुले भने राजनीतिक भन्दा मधेसमा संचालित प्रोजेक्टका बिषयमा बढी छलफल गरेका थिए । मधेशको विकासमा भारतले सधैं सहयोग गर्ने बिषयमा स्वराजले राजपाका नेताहरुलाई सुझाएकी थिईन् ।
प्रदेश नम्बर २ मा राजपा र फोरमले राम्रो चुनावी परिणाम ल्याएको भन्दै सुष्माले बधाई समेत दिइन् । र, अब फोरमसँग मिलेर अघि बढ्न र प्रदेश दुईमा आफ्नो नेतृत्वमा सरकार बनाउन उनले शुभकामना दिइन् । सरकारमा गएर आफ्नो जिम्मेवारी प्रमाणित गरेर देखाउन सुष्माले राजपा नेताहरुलाई भनिन् । सोल्टी होटलमा भएको भेटमा राजपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव लगायतको उपस्थिति थियो ।
भेटमा मधेसी नेताहरुले आफूहरु निर्वाचनमा गए पनि संविधान संशोधनको मुद्दा यथावत नै रहेको बताएका थिए । तर स्वराजले त्यो तपाईहरुको एजेन्डा हो सहमतिमा मिलाउने प्रयत्न गर्नुस भन्दै पन्छिएकी थिईन् । स्वराजले मधेसी नेतालाई भनिन्, ‘वाम सरकारमा जाने नजाने भन्ने पनि तपाईहरुको आन्तरिक बिषय हो यसमा हाम्रो हस्तक्षेप छैन् ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको विकासमा जोड दिएको र छिमेकी देशको विकाससँगै जोडेर भारतको विकास गर्न चाहेकाले भारतको यो नीतिबाट फाइदा उठाउन सुष्माले राजपा नेताहरुलाई सुझाव दिइन् ।
मधेसी नेताले स्वराजसँगको भेटमा मधेसको विकासको एजेन्डालाई बढी प्राथमिकता दिएका थिए । तर, सुष्माले वाम गठवन्धनको सरकार गठन प्रक्रियामा आपसी समझदारी गरेर अगाडी बढ्न आग्रह गरेकी थिईन् ।