काठमाडौं । कीर्तिपुर राराहिलस्थित थिएटर मल–कीर्तिपुर रंगमञ्चमा नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चन शरु भएको छ । शुक्रबारबाट शुरु भएको ‘जामुनको रुख’ नाटकबाट कीर्तिपुर रंगमञ्चमा नियमित नाटक मञ्चन शुरु भएको हो ।
कृष्ण चन्दरको कथामा आधारित नाटकलाई रंगकर्मी केदार श्रेष्ठले नाट्य लेखन, परिकल्पना तथा निर्देशन गर्नुभएको छ । ‘जामुनको रुख’ वर्तमान जटिल र विसंगत सामाजिक, राजनीतिक अवस्थाको सपाट कथा हो । पद र पावरमा रहेकाको अनिर्णय, अनियमितता, अकर्मण्यता, अव्यवस्था, असंवेदना, अमानवीयतालगायतका कुरा नाटकमा समेटिएका छन् ।
गत वर्ष फागुनमा नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवबाट नाटकघर कीर्तिपुर रंगमञ्चको उद्घाटन भएको थियो । यस बीचमा विभिन्न कार्यशाला तथा केही नाटक मञ्चन भएपनि नियमित भने ‘जामुनको रुख’बाट भएको हो ।
नाटक माघ ४ गतेसम्म प्रत्येक दिन बेलुकी साढे चार बजे र शनिबार दिउँसो दुइ बजे मञ्चन हुनेछ । ‘जामुनको रुख’मा शंकर भण्डारी, कञ्चन संग्रौला, मनिष ब्याञ्जु, शक्ति पाख्रिन, हिरा महर्जन, स्नेहा रसाइली, रोसन केसी, सरोज राईले अभिनय गरेका छन् ।