नम्रता बानियाँकाठमाडौँ । काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय, मुलुकमै छुट्टै पहिचान छ यसकाे । ऐतिहासिक महत्व बोकेको छ यो विद्यालयले । प्रसिद्ध साहित्यकार पारिजात अर्थात् विष्णुकुमारी वाइवाले अध्ययन गरेको विद्यालय पनि हो पद्मकन्या । १९९४ सालमा दार्जिलिङको लिङ्गिया चियाबगानमा जन्मिनु भएकी पारिजात २०११ सालमा काठमाडौं आउनुभयो । त्यसपछि उहाँले पद्मकन्या विद्याश्रममा पठनपाठ शुरु गर्नुभयो । पारिजातले यहीबाट प्रवेशिका (एसएलसी) उत्तीर्ण गर्नुभयो । त्यसपछि पद्मकन्या कलेजबाट बीए पास गर्नुभयो ।
पारिजात मात्र होइन, पूर्व युवराज्ञी हिमानी शाहले यहीबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो । हिमानीले २०५० सालमा यहीबाट एसएलसी दिनुभएको थियो । धेरै नाम चलेका चेलीहरुलाई शिक्षित बनाएको पद्मकन्या विद्याश्रमले विद्यालयको भीडमा छुट्टै अस्तित्व बोकेको छ । विभिन्न क्षेत्रमा प्रतिष्ठित थुप्रै महिलाले यहीँबाट शिक्षा आर्जन गरेका छन् ।
छात्रालाई मात्र शिक्षा दिने उद्देश्यले राणा प्रधानमन्त्री पद्म शमशेरको पालामा २००४ सालमा स्थापना भएको हो यो विद्यालय । त्यहीकारण नाम पद्मकन्या विद्याश्रम राखियो । त्यसबेला महिलालाई शिक्षा दिनु हुँदैन भन्ने मान्यता थियो । त्यस्तो अवस्थामा छात्राकै लागि विद्यालय खोल्नु र चलाउनु त्यति सहज थिएन । तत्कालीन सामाजिक परिवेशलाई चिर्दै महिलाकै लागि विद्यालय स्थापना भयो । अन्ततः विद्यालयले विभिन्न चुनौति पार गर्दै गति लिएरै छोड्यो ।
छात्रा मात्रै पढ्ने यो विद्यालयमा अहिले कक्षा १२ सम्म पढाई हुन्छ । विद्यालयकी प्रधानाध्यापक रिता तिवारी पूर्व प्राथमिक कक्षालाई अझै प्रभावकारी बनाउने योजना भइरहेको बताउनुहुन्छ । भविष्यमा कक्षालाई मोन्टेश्वरी पद्दतिमा लैजाने योजना समेत रहेको उहाँले जानकारी गराउनुभयो ।
विद्यालयको कम्पाउण्ड ठूलो छ । विद्यालय परिसरभित्रै प्रशस्तै खेल्ने ठाउँमा पनि छ । सामुदायिक विद्यालय भएको कारण शुल्क पनि त्यति महंगो छैन तर अभिभावकको नजर खास्सै जान सकेको छैन । मुलुकमा सम्भ्रान्त परिवारले महंगा बोर्डिङ नै ताक्छन् । विपन्न तथा मध्यम वर्गीय परिवारले मात्रै सामुदायिक विद्यालय छान्ने गर्छन् । पद्मकन्या सामुदायिक भए पनि स्तरीय मानिन्छ । विद्यालयमा दक्ष शिक्षक छन् । पद्मकन्या विद्याश्रममा १ हजार छात्रा अध्ययन गरिरहेका छन् । विद्यालयले नेपाली र अंग्रेजी दुवै माध्यममा कक्षा सञ्चालन गरिरहेको छ ।
मुलकमा समावेशी शिक्षाको परिकल्पना भइरहँदा यो विद्यालयले भन जुन औचित्यका लागि भनेर खोलिएको हो त्यसलाई युगौँदेखि निरन्तरता दिँदै आइरहेको छ । भविष्यमा पनि छात्राहरुलाई मात्रै पढाउने अठोट लिएको छ । विद्यालयले अहिले प्राविधिक विषय पढाउन शुरु गरेको छ । विद्यालय तहदेखि प्राविधिक शिक्षा दिनुपर्छ भनेर विद्यालयले सिभिल इञ्जिनियरिङ्को कक्षा सञ्चालन गर्दै आइरहेको छ । विद्यालयले दातृ निकायको सहयोग र आफ्नै प्रयासमा सकेको विषय ल्याउने र विद्यार्थीलाई सहजता हुने काम गरिरहेको छ ।
विद्यालयले प्रदेश सरकारको सहयोग र विभिन्न अभियान अन्तर्गत नर्स पनि प्राप्त गरेको छ । प्रदेश सरकारले ल्याएको यस्तो अभियान प्रभावकारी बनेको छ । यस्तो अभियानमा अन्य विद्यालय पनि लाग्नुपर्ने त्यहाँ कार्यरत नर्सको भनाइ छ । विद्यालयमा बालिकालाई नर्सको सहयोगमा कसरी हात धुने ? दाँत कसरी माझ्ने, महिनावारी हुँदा के गर्ने के नगर्ने लगाायत विषयवस्तु सिकाइन्छ । विद्यालयमा नर्स हुँदा विद्यार्थी सामान्य बिरामी हुँदा घर पठाउनु नपर्ने भएको छ । यसअघि विद्यार्थीलाई सामान्य समस्या हुँदा पढाई नै प्रभावित पारेर घर पठाउनुपर्ने अवस्था थियो ।
विद्यालयमा कम्प्युटर कक्षा, पुस्तकालय र प्रयोगात्मक कक्षा सञ्चालनमा आइरहेका छन् । जसले विद्यार्थीहरुलाई बौद्धिक विकासमा निकै सहयोग गरिरहेको छ । विद्यालयले टाढाटाढाबाट आएका बालिकालाई अध्ययन गर्न सहज होस् भनेर छात्रवास निर्माण गरिसकेको छ, तर फर्निचर व्यवस्थापन गर्न नसक्दा विद्यालयले छात्रवास सञ्चालनमा ल्याउन सकेको छैन । विद्यालय फर्निचरका लागि सहयोगको पर्खाइमा छ । फर्निचर राखेपछि छात्रावास संचालन हुने विद्यालयको भनाइ छ ।
जनता टेलिभिजनकाे कार्यक्रम द नेक्स्ट स्टेपकाे भिडियाे :
https://www.youtube.com/watch?v=OnGXkuBtbv4&list=PLT8LMrml4tPEkJ_TRQK_kkmjbZFg82Ang&index=2