राजन पौडेल पर्वत । लटरम्म फलेका सुन्तलाले पुरै गाउँ नै पहेँलो देखिन्छ । फलेका सुन्तलाको मनमोहक दृष्यले रंगाएझैं लाग्ने गाउँमा लमक/लमक गरिरहेका भेटिन्छन्, सुन्तला व्यापारीहरू । यसरी सिंगो गाउँ नै सुन्तलाले छोपिएसँगै किसानलाई भ्याइ न भ्याई छ, गण्डकी प्रदेशकाे पहाडी जिल्ला पर्वतमा ।
जिल्लाको मोदी गाउँपालिका देउपुरका किसानका बगैंचामा सुन्तला खरिदका लागि यतिबेला देशका विभिन्न ठाउँबाट व्यापारी ओहोर/दोहोर गरिरहेका भेटिन्छन् । कृषकहरुले गएको वर्ष माछापुच्छ्रे सुन्तला सहकारी संस्थामार्फत बिक्री गरेपनि यो पटक निजी तरिकाले बिक्री गर्न थालिएको सहकारीका अध्यक्ष दाताराम चापागाइँले जानकारी दिए । यो बर्ष राम्रो दाना लागेका कारण सुन्तला बिक्रीबाट गाउँमै कतिपयले दोब्बर आम्दानीसमेत गरेका छन् ।
यतिबेला सुन्तला टिप्नका लागि व्यापारीले देउपुरका बगैंचा भरिएका छन् । सुन्तला टिप्ने र लैजानेहरुका कारण कुनै मेला लागेजस्तै देखिन थालेको छ । थोक व्यापारीले बगैंचामै पुगेर खरिद गरेपछि कृषकलाई निकै सहज भएको स्थानीय बिनोद चापागाइँको अनुभूति छ ।
देउपुरकी कृषक भोजकुमारी चापागाइँले ३ लाख रुपैयाँमा सुन्तलाको बगैंचा नै बिक्री गरेकी छन् भने अर्का कृषक बाबुराम तिमिल्सिनाले २ लाख ८५ हजारमा सुन्तला बिक्री गरेका छन् । आफूले ४ लाख रुपैयाँमा सुन्तलाको बगैंचा बिक्री गरेको अर्का कृषक ख्यामराज पौडेलले बताए ।
गत वर्षको हिउँदमा पटक–पटक आएको असिनापानीका कारण घाटा लागेकाले यो वर्ष सुन्तलाको एकमुष्ट बिक्री गरिएको कृषकहरु भनाइ छ ।
अन्य खेती छाडेर सुन्तला खेतीमादेउपुरका एक सय ६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा जाेडिएका हुन् । विगत डेढ दशकदेखि गरिएको सुन्तला खेती यहाँका कृषकको मुख्य आम्दानीको श्रोत नै बनेको देखिन्छ ।
परम्परागत रुपमा कोदो र मकै लगाउने गरेका कृषकहरुले सुन्तला खेती गरिएपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आएको बताउने गरेका छन् । देउपुरको माथिल्लो क्षेत्रमा असिनाले क्षति पुर्याएपनि कोरुङ्गा लगायतका अन्य क्षेत्रमा त्यति क्षति पुगेको छैन् । गएको वर्ष उत्पादन कम भएपनि यसवर्ष राम्रो दाना लागेका कारण उत्पादन बढेको कृषक बाबुराम तिमिल्सिनाले बताए ।
यहाँका कृषकले यस वर्ष करिब ३ करोड मुल्यका सुन्तला बिक्री गर्ने अनुमान गरेका छन् । सुरुमा केही कृषकले परीक्षणका लागि सुन्तलाका बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि गाउँभरि नै यो खेती फैलिएको हो । अहिले देउपुरमा सुन्तला खेती नभएको कुनै घरपरिवार छैन् र अधिकांशको मुख्य काम नै यही बनेको छ ।
साबिक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिक रुपमा सुरु गरिएको माछापुच्छ्रे सुन्तला समूहका अध्यक्ष दाताराम चापागाइँ बताउनुहुन्छ । सुन्तला खेतीको विस्तारका लागि थप प्रयास जारी रहेको उहाँको भनाइ छ ।
सुरुमा कोदो र मकैलाई मात्र प्राथमिकता दिने गरिएको देउपुरमा सुन्तला खेतीको शुरुवातपछि वार्षिक रुपमा प्रत्येक परिवारको दुईदेखि पाँच लाखसम्म कमाई हुन थालेको चापागाइँले बताए । न्युन आयस्रोत भएका परिवारलाई पनि सुन्तला खेतीका कारण जीवनमा सहजता थपेको छ ।