रुपन्देही । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा अन्तर्गत शनिबार सम्पन्न खेलमा ज्ञानोदय क्रिकेट क्लब तिलोत्तमा विजयी भएको छ ।
डिभिजन (बी) अन्तर्गत भएको खेलमा ज्ञानोदयले बुटवल युथ स्पोर्टस क्लबलाई ६ विकेटले पराजित गरेको हो ।
निर्धारित ४० ओभरको खेलमा टस जितेर ब्याटिङ गरेको बुटवल युथले २४.२ ओभरमा सम्पूर्ण विकेटको क्षतिमा १०४ रनको योगफल बनायो । उसका लागि कृष्ण गिरीले ३८ र विनित पौडेलले १६ रनको योगदान गरे । बलिङमा ज्ञानोदयका कृष्ण भुसालले ३ तथा अशोक मौर्या र विवेक यादवले २÷२ विकेट लिए ।
जवाफमा ज्ञानोदयले २३ ओभरमा ४ विकेट गुमाउँदै १०५ रन बनायो । उसका लागि कृष्ण भुसालले २३ (नटआउट), क्षितिज गैरेले १२ र लोकेन्द्र सेनले १४ (नटआउट)को योगदान गरे । बलिङमा बुटवल युथका विनित पौडेलले २ तथा आरिफ सेख र अजय चौधरीले १÷१ विकेट लिए ।
खेलमा ज्ञानोदयका कृष्ण भुसाल म्यान अफ द म्याच घोषित भए । आइतबार गोलपार्क क्रिकेट क्लब बुटवल तथा जितगढी क्रिकेट क्लबबीच हुनेछ ।
नेपाल टेलिकमको प्रायोजन, विके ज्वेलर्स भैरहवाको सह–प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिको रुपन्देहीको सहयोगमा सञ्चालित प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार, द्धितीय हुनेलाई ४० हजार, म्यान अफ सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र इमरजिङ प्लेअरलाई ५/५ हजार प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ ।
त्यसैगरी मिनर्वा इङलिस बोर्डिङ स्कूलका प्राचार्य राजकुमार गुुरुङले म्यान अफ द सिरिज वापतको १५ हजार रुपैंया पुरस्कार सौजन्य गरेका छन् । क्रिकेट प्रतियोगितामा डिभिजन ए का ८ र बि का १२ गरी २० टिम सहभागि हुनेछन् ।