काठमाडौं । बाग्लुङमा शिकार खेल्न जाँदा आफ्नै साथीको बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । तमानखोला गाउँपालिका वडा नम्बर १ का ओमबहादुर घर्तीमगरको साथीले बोकेको बन्दुकको गोलीले मृत्यु भएको हो ।
घर्तीसहित ९ जना शुक्रबार दिउँसो बाँदर धपाउन र शिकार खेल्न गएका थिए । शिकार खेल्न गएका उनीहरु मध्ये घर्तीको मृत्यु भएपछि शुरुमा आफैले बोको बन्दुक पड्किएर ज्यान गएको भनिएको थियो । घर्तीमगरको पिँडौला र पिँठ्यूमा गरी तीन ठाउँमा बन्दुकको छर्रा लागेको थियो ।
सँगै शिकार खेल्न गएका लोकबहादुर बुढाले बोकेको एकनाले भुरुवा बन्दुक अचानक पड्किँदा ५० वर्षीय घर्तीमगरको ज्यान गएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो । छर्रा लागी घाइते भएका घर्तीमगरको धवलागिरी अञ्चल अस्पताल ल्याउँदै गर्दा बिहीबार राति बाटोमै मृत्यु भएको हो ।
शरीरको पछाडिपट्टि चोट देखिएपछि आफैँले बोकेको बन्दुक पड्किएर घटना नभएको निष्कर्षमा प्रहरी पुगेको हो । ‘शवको प्रकृति हेर्दा अरु नै दुर्घटना हो भन्ने लागेपछि थप अनुसन्धान थाल्यौं’ , बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले भन्नुभयो । उहाँले घटनामा नियत नदेखिए पनि कसरी बन्दुक पड्केर घर्तीमगरलाई लाग्यो भन्नेबारे अझै खुलिनसकेको बताउनुभयो । शव परीक्षणको प्रतिवेदन पनि आउन बाँकी रहेकाले छिट्टै घटनाको थप यथार्थ बाहिर आउने उपरीक्षक भट्टको भनाइ छ । ‘बीचबाटोमा ल्याउँदासम्म उहाँ जीवितै रहेको भन्ने पाइयो’, उपरीक्षक भट्टले भन्नुभयो । घर्तीमगरलाई अस्पताल पु¥याएपछि चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए ।
घटनालाई ढाकछोप गर्न कसैलाई थाहै नदिइ घाइतेलाई अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । मृतक घर्तीमगरको शव शनिबार परिवारले बुझी अन्तिम संस्कारसमेत गरिसकेका छन् । मृतक घर्तीमगरका छोरा मेघबहादुरले कर्तव्य ज्यान मुद्दामा जोहेरी दिएपछि शिकार खेल्न गएका बुढासहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चार थान वडा नम्बर ३ का लोकबहादुर, गाउँपालिका– १ का २५ वर्षीय भेषबहादुर बुढा, ४० वर्षीय खट्केङ दमाई, २० वर्षीय भीमबहादुर नेपाली, ४७ वर्षीय देवबहादुर पुन, ६७ वर्षीय प्रेमबहादुर पुन, वर्ष ३९ का पृथीबहादुर घर्ती, वडा नम्बर ३ का ४४ वर्षीय फर्षबहादुर बुढा र ३५ वर्षीय दुर्गाबहादुर घर्ती पक्राउ परेका हुन्
पक्राउ परेका उनीहरुलाई हातहतियार कसुरमा ५ वर्ष जेल सजायदेखि ५० हजारसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ । कर्तव्य ज्यानको कसुर प्रमाणित भए थप कानूनी कारवाही हुने घटनाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक केशवसिंह थापाले बताउनुभयो ।