फाइल तस्बिर
तनहुँ । जिल्लाको विभिन्न ठाउँमा २० महिनाको अवधिमा चितुवाको आक्रमणबाट ८ बालबालिकाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट भानु नगरपालिकामा ६, शुक्लागण्डकीमा १ र आँबुखैरेनी गाउँपालिकामा १ बालबालिकाले जीवन गुमाएका छन् ।
भानुमा पछिल्लो समय चितुवाको आक्रमण रोकिए पनि अझै ढुक्कसँग बस्ने अवस्था नरहेको स्थानीय मायादेवी अधिकारीले बताउनुभयो । ‘चितुवाले कतिबेला आक्रमण गर्ने हो थाहा छैन’ उहाँले भन्नुभयो, ‘ढुक्कसँग बस्न सकेका छैनौ । साँझ पर्न थालेपछि सतर्कता अपनाउने गरेका छौ ।’
चितुवा आतंक बढेपछि साँझ ५ बजेपछि घरबाट बाहिर निस्कन बन्द गरिएको शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका फूलमाया नेपालीले बताउनुभयो । ‘साँझ पर्न थालेपछि चितुवा देखिन थालेकाले सबै घरभित्रै बस्ने गरेका छौं’ उहाँले भन्नुभयो, ‘ महिला घाँस दाउरा गर्न जंगल जान छाडेका छन् ।’ स्थानीयवासी काजी खत्रीले विद्यालय पुर्याउन र ल्याउन अभिभावक बालबालिकासँगै जाने गरेको सुनाउनुभयो ।
भानुका नगर प्रमुख उदयराज गौलीले चितुवा आक्रमणबाट सबैभन्दा बढी भानुवासी प्रभावित रहेकोले ढुक्कसँग बस्नसक्ने अवस्था निर्माण गर्न नगरपालिकाको तर्फबाट पहल भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार भानु नगरपालिका–१, २, ३ र ४ का सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि ९ वटा काठको खोर बनाइएको छ । उहाँका अनुसार चितुवा नियन्त्रणका लागि खोर प्रभावकारी देखिएको छ ।
पछिल्लो समय वन्यजन्तुबाट मानिस, घरपालुवा जनावर र खेतीपातीको क्षति हुने क्रम बढ्दै गइरहेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताउनुभयो । मानवबस्तीमा चितुवा प्रवेश गरी बालबालिकालाई आक्रमण गर्न थालेपछि जिल्लास्थित डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, नगरपालिका र सामुदायिक वनका पदाधिकारीले नरभक्षी चितुवा नियन्त्रणका विभिन्न प्रयास जारी राखेको बरालले जानकारी दिनुभयो ।
चितुवा नियन्त्रण गर्न भानुमा थापिएको काठको खोरमा हालसम्म पाँच र ब्यास नगरपालिका–९ को फलामको खोरमा परेर एउटा चितुवा नियन्त्रणमा आइसकेको छ । चितुवालाई सुरक्षित रुपमा अन्यत्रै स्थानान्तरण गरिएको छ ।
चितुवाका आहारा मृग, बँदेल, खरायो, वन कुखुरा आदि लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण बढेको बरालले बताउनुभयो । ‘ठूलो मान्छेलाई भन्दा साना बालबालिकालाई आक्रमण गर्न सजिलो हुने भएकोले चितुवाको निशानामा बालबालिका पर्दै गएको देखिन्छ’ बरालले भन्नुभयो । अँध्यारो र घर आसपास झाडी भएको ठाउँबाट चितुवाले आक्रमण गर्ने देखिएकोले त्यसमा सर्तक हुन भनिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले तनहुँमा चितुवा नियन्त्रणका लागि प्रदेश सरकारबाट ३इ लाख बजेट विनियोजन गरिएको बताउनुभयो ।
डिभिजन वन कार्यालय तनहुँले चितुवाको आक्रमणबाट ज्यान गुमाउने भानुका ६ बालबालिकाका परिवारलाई राहतस्वरुप जनही १० लाख उपलब्ध गराइसकेको र बाँकी दुई बालकका परिवारलाई राहत वितरणका लागि प्रक्रिया अगाडि बढाएको छ ।