रुपन्देही । यहाँको सियारी गाउँपालिकाकाे अमवामा पहिलोपटक शुरु भएको माछा महोत्सवमा कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले माछा उत्पादनमा रुपन्देही मुलुककै नमुना बन्न सक्ने बताउनुभएको छ । उहाँले आफू रुपन्देहीलाई माछा उत्पादनमा मुलुककै नमुना बनाउने गरी लाग्ने बताउनुभएको छ ।
बिहीबारबाट शुरु भएको महोत्सवमा भुसालले सरकारले उपलब्ध गराउँदै आएको कृषि अनुदानमा दुरुपयोग बढेको कुरा आइरहेको र त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको भन्दै किसानले पाउने अनुदानलाई दुरुपयोग हुन नदिइने समेत प्रष्ट पार्नुभएको छ । भुसालले माछाको बजारीकरण गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न र कृषि पर्यटनको समेत विकास गर्न सकिनेतर्फ ध्यान दिन व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
समग्र कृषि क्षेत्रलाई आधुनिक ढंगबाट अघि बढाउन सरकार लागिपरेको बताउनुहुँदै मन्त्री भुसालले किसानलाई व्यावसायिक बनाउन कृषिको यान्त्रिकीकरण तथा आधुनिकीकरणको विकल्प नभएकोमा जोड दिनुभएको छ । बीउबीजन सम्बन्धी राष्ट्रिय नीतिलाई संघीय ढाँचा अनुसार बनाउन आवश्यक सबै खाले कानूनहरुको संशोधन गरिने उहाँको भनाइ छ ।
महोत्सवमा प्रदेशसभा सदस्य तुलसी चौधरीले रुपन्देही माछाको सुपर जोन रहेको र भविष्यमा राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले यसको उत्पादन बढाउनतर्फ किसानलाई प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले माछा महोत्सव नेपाल पर्यटन वर्ष र लुम्बिनी भ्रमण वर्ष सफल बनाउन सार्थक हुने उल्लेख गर्दै लुम्बिनी आएका बाह्य पर्यटकलाई माछा महोत्सवमा आकर्षित गर्न लुम्बिनी विकास कोषले सहयोग गर्ने अपेक्षा राख्नुभयो ।
महोत्सवमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोन रुपन्देहीका सञ्चालक समिति संयोजक गणेश शाहीले रुपन्देहीको उत्पादनले मात्रै पनि मुलुकलाई नै माछामा आत्मनिर्भर बनाउन सकिने र भारतमा समेत माछा निर्यात गर्न सकिने सम्भावना रहेकोल किसानमैत्री नीतिको खाँचो रहेको बताए ।
पाँच दिनसम्म चल्ने महोत्सव रुपन्देहीको सियारी, शुद्धोधन, मायादेवी र गैडहवा गरी चारवटा गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपर जोनको आयोजनामा सियारी गाउँपालिकामा आयोजना गरिएको हो । महोत्सव उद्घाटनका अवसरमा माछा किसानले मत्स्य नीति, राष्ट्रिय मत्स्य विकास बोर्ड र छुट्टै मत्स्य निर्देशनालय गठन गर्न कृषि मन्त्रीसमक्ष माग गरेका छन् । किसानहरुले नीतिको अभावमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि वार्षिक ५ अर्बको माछा आयात गर्नुपर्ने बाध्यता रहेको बताएका थिए ।
महोत्सवमा माछापालनसँग सम्बन्धित आधुनिक प्रविधि, दाना, माछाका भुरा लगायत मत्स्य सम्बन्धी ३६ वटा स्टल राखिएका छन् । त्यस्तै महोत्सवमा माछाका परिकारहरुका साथै स्थानीय थारु खानाका परिकार, बल्छी प्रतियोगिता, स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति समेत रहने बताइएको छ ।