म्याग्दी । सिंगाको राक्सेका महिलाले बाजा बजाउन थालेका छन् । परम्परा धान्न र गाउँमा बाजा बजाउने जनशक्ति नभएपछि क्षेत्री र बाहुन समुदायका महिला आफैं पञ्जेबाजा बजाउन अघि सरेका हुन् ।
बिवाह, ब्रतबन्ध, चौरासी र विभिन्न सभा समारोहमा बाजा बजाउने जनशक्ति नपाएपछि आफै सिकेर बजाउन थालेको स्थानीय लक्ष्मी खत्रीले बताइन् । आफूहरुले बाजा बजाउन थालेपछि पञ्जेबाजाको संरक्षण तथा परम्पराको जगेर्नासंगै आय आर्जनमा पनि सहयोग पुग्ने महिलाको भनाई छ । सीप भएका युवा तथा पुरुष विदेशिन थालेपछि गाउँमा हुने शुभकार्यमा बाजा बजाउनेको अभाव भएको हो ।
छिमेकी गाउँबाट बोलाउँदा पालो नपाउने र धेरै खर्च गर्नुपर्ने समस्या भएपछि महिला आफै बाजा बजाउन अग्रसर भएका हुन् । राक्सेको नवजागरण आमा समूहको पहलमा १० जनाले पञ्जेबाजा बजाउन सिकिसकेका छन् ।
खासगरि समाजमा बाजा बजाउने पेशा दर्जी र सार्की थरका दलित समुदायको परम्परागत पेशा मानिन्थ्याे । तर पछिल्लो समय मगर समुदायका युवायुवtL देशका विभिन्न सहरमा व्यवसायिक रुपमा बाजा बजाउन थालिरहेका छन् । दलित समुदायले मात्रै बजाउनु पर्ने समाजको गलत मान्यता तोडेर क्षेत्री, बाहुन समुदायका महिलाहरुले पनि पञ्चेबाजा बजाउन थालेका समूहकी उपाध्यक्ष हिरा शर्माले जानकारी दिनुभयाे । सहनाई, ढलकी, ट्याम्कुली, झ्याली, कर्नल, दमाह लगायत सबै नौ थरी बाजा महिलाले बजाउन थालेका छन् ।
उनीहरुलाई स्थानीय प्रकाश परियारले बाजा बजाउन सिकाएका हुन् । महिलाहरुले निकै चासो र रुचि दिएर छिटो बाजा बजाउन सिकेको परियार बताउँछन् । झजनमा मादल समेत नबजाए पनि इच्छाशक्ति र सामाजिक आवश्यकताका कारण बाध्यताले बाजा बजाउनुपर्ने अवस्था आएको समूहकी सदस्य भगवति सुवेदीको भनाइ छ ।
महिलाहरुले एक महिनादेखि नियमित बाजा बजाउने प्रशिक्षण लिइरहेका छन् । वडा कार्यालयको प्रस्तावमा बेनी नगरपालिकाले महिलाहरुलाई पञ्चेबाजा बजाउने तालिम सञ्चालन र बाजा तथा पोशाक खरिद गर्न एक लाख पचास हजार रुपैयाँ विनियोजन गरेको वडा अध्यक्ष गोविन्द पौडेलले बताए ।
बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र उप प्रमुख सञ्जु बरुवालले महिलाहरुको उत्साह र सक्रियताबाट उत्साहित भएको र बाजा समूहलाई थप प्रोत्साहन गरिने बताएका छन् । राक्सेको बाजा समूहले बेनीमा सञ्चालन भएको माघे संक्रान्ति मेलामा बाजा प्रस्तुत गरेका थिए । उनीहरुको बाजाले आजभोली जताततै चर्चा र प्रशंसा पाइरहेको छ ।