भगीरथ भण्डारीइलाम । करुणा फाउण्डेशनले हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम मार्फत एक वर्षमा पाँच सय ४२ जनालाई उपचारमा सहयोग गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा अपाङ्गता भएका पाँच सय ४२ जनाको उपचारमा सहयोग गरेको फाउन्डेशनले जनाएको छ । अपाङ्गताको रोकथाम र पुन स्थापनाको क्षेत्रमा काम गर्दै आएको फाउन्डेशनले उपचार सहयोग गरेको करुणाका व्यवस्थापक अजित योञ्जनले बताउनुभयो ।
करुणा फाउण्डेशनले एक वर्षमा आठ सय ५५ जनालाई सहायक सामग्री प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिलाई ६० हजार रुपैयाँ पर्ने ह्वील चेयरदेखि कृत्रिम हातखुट्टा, श्रवण यन्त्रलगायतका सामग्री प्रदान गरिएको हो । फाउण्डेशनले अपाङ्गता भएकाहरु आवासीय संरचनासमेत सुधार गरिदिएको छ । ८७ जना अपाङ्गता भएकाहरुको आवासीय संरचना सुधार गरिएको हो । दश हजार रुपैयाँ सम्मको लगानीमा घर, शौचालय र बाटोकासमेत संरचना सुधार गरिएको फाउण्डेशनका छवी श्रेष्ठले जानकारी दिए ।
अपाङ्गताका कारण विद्यालय नै जानबाट वञ्चित बालबालिकालाई साक्षर बनाउने उद्देश्यले घरैमा अनौपचारिक शिक्षाको पनि व्यवस्था गरिएको छ । घरकै व्यक्ति, छिमेकी, आफन्त या नजिक रहेका शिक्षकबाट अपाङ्गता भएकाहरुलाई साक्षर बनाउन घरैमा आधारित अनौपचारिक शिक्षाको व्यवस्था मिलाइएको हो । पछिल्लो एक वर्षमा ७४ जना अपाङ्गता भएका व्यक्तिले यस्तो सेवा पाएका छन् ।
उत्प्रेरणाको लागि हेरचाह कार्यक्रममा आव २०७४/०७५ मा चार करोड ६८ लाख ५३ हजार चार सय ९३ रुपैयाँ खर्च भएको छ । स्थानीय तहसँगको साझेदारीमा हेरचाहको लागि उत्प्रेरणा कार्यक्रममा यो रकम खर्च भएको बताइउको छ । सन २०१५ बाट शुरु भएको परियोजनाले गर्भमा, जन्मको क्रममा र जन्मपछि हुने अपाङ्गता रोकथामको लागि कार्यक्रम गर्दै आएको छ । इलाममा कार्यक्रम अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा कार्यक्रम लागु भएको क्षेत्रमा अहिले स्थानीय तहले मात्रै लगानी गरेका छन् भने फाउण्डेशनले प्राविधकि सहयोग मात्रै गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७६/०७७ का लागि चार करोड ३५ लाख ९६ हजार छ सय रुपैयाँ लगानी हुने जनाइएको छ ।
कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिलाई व्यावसायिक बनाउनको लागि करुणाले बिउ र पूँजी दिएको छ । अपाङ्गता भएका व्यक्तिहरुले समेत स्वालम्बन समूहमार्फत बचत संकलन गर्ने र लगानी गर्ने गरेका छन् । एक वर्षमा एक हजार चार सय ३१ पटक त्यस्तो रकम उनीहरुले ऋणको रुपमा चलाएको तथ्यांक छ । कार्यक्रम प्रभावकारी बनेपछि एक नम्बर प्रदेशका चार जिल्लामा कार्यक्रम थपिने भएको छ ।
मोरङ, सुनसरी, धनकुटा र पाँचथरका २९ स्थानीय तहमा कार्यक्रम विस्तार हुने बताइएको छ । ‘केही स्थानीय तहमा हामीले आधारभूत तथ्यांक संलकन गरिसकेका छौ’, करुणा फाउण्डेशनका कार्यक्रम व्यवस्थापनक अजित योञ्जनले भने ।
विस्तार भएका जिल्लामा कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले ३३ प्रतिशत, स्थानीय तहले ३३ प्रतिशत र ३३ प्रतिशत करुणा फाउण्डेशले लगानी गर्नेछ ।